मधेशदूत समाचारदाता---
सर्लाही, फाल्गुन ८
सर्लाहीको बागमती नगरपालिका क्षेत्रमा मधेशी मूलका उम्मेदवारको चुनाव प्रचारमा अवरोध गरिएको भन्दै विवाद उत्पन्न भएको छ। सर्लाही क्षेत्र नम्बर ३ का जसपा नेपालका उम्मेदवार डा.जय प्रकाश यादव( जेपी यादव)माथि नेकपाका केही स्थानीय कार्यकर्ताले दुर्व्यवहार गरेको आरोप लागेको छ।
चुनावी प्रचार प्रसारको क्रममा बुधबार आफ्ना कार्यकर्ता तथा सहयोगीहरुको साथमा बागमती पुल नजिकैको एक होटलमा खाजा खान गएको बेला स्थानीय युवा प्रसान्त वाइवाले डा. यादवलाई धम्की दिँदै अपमानजनक र जातीय टिप्पणी गरेको बताइएको छ। प्रत्यक्षदर्शीका अनुसार वाइवाले अपमानजनक शब्द प्रयोग गर्दै “मधेशीहरूको कुनै औकात हुँदैन ,बीस–तीस रुपैयाँको खान्छन्, यहाँबाट भाग” जस्ता शब्दको प्रयोग गरेर जातीय रूपमा होच्याउने प्रयास गरिएको आरोप छ। उक्त ब्यक्ति नेकपा माओवादी पार्टी निकट रहेको बुझिएको छ।
घटनाको भिडियो सार्वजनिक भएपछि प्रहरीले वाइवालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
यस घटनाको विरोध गर्दै जसपा नेपालका नेता–कार्यकर्ताले दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।
यसै विषयमा प्रेस मञ्च सर्लाही शाखाले बिहीबार मलंगवाको पञ्चवटी होटलमा पत्रकार सम्मेलन गरी घटनाको निष्पक्ष छानबिन गर्न प्रशासनसँग माग गरेको छ।
पार्टीका जिल्ला अध्यक्ष रणधिर यादवले सत्य–तथ्य छानबिन गरी दोषीमाथि कारबाही नभए २०६४ सालजस्तै आन्दोलन हुन सक्ने चेतावनी दिएका छन्।

No comments:
Post a Comment