निर्वाचन आचार संहिता उलंघन गरेर चुनावी प्रचार: ग्रामिण क्षेत्रमा बालबालिका र भारतीय गाडीको प्रयोग, अधिकांश सांसद-मन्त्री भइसकेका उम्मेदवार संलग्न
मनोज यादव---
सर्लाही, फाल्गुन ८
आसन्न प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सर्लाहीको ग्रामीण क्षेत्रहरूमा चुनावी प्रचारप्रसार तीव्र बनेको छ। पछिल्लो समय घरदैलो र जुलुसमा बालबालिकाको प्रयोगसँगै भारतीय नम्बर प्लेटका सवारी साधन पनि खुलेआम प्रयोग भइरहेको देखिएको छ।
स्थानीय बासिन्दाहरूका अनुसार, उम्मेदवार र उनका पक्षधरहरूले घरदैलो तथा जुलुसमा बालबालिकालाई झन्डा बोक्ने र नारा लगाउने काममा लगाएका छन् ।साथै,भारतीय नम्बर प्लेटको मोटरसाइकल र जिप पनि व्यापक प्रयोग गरेका छन् ।
यस्ता गतिविधि अधिकांश सांसद र मन्त्री भइसकेका उम्मेदवारहरूले गरेको पाइएको छ। यसले राजनीतिक अभ्यास, कानुनी नियम र बालअधिकार दुवैको दृष्टिले चिन्ता बढाएको छ।
विशेषगरी ग्रामीण क्षेत्रमा यस्तो गतिविधि बढी देखिएको छ। स्थानीय शिक्षकहरूले चुनावी प्रचारमा बालबालिकाको सहभागिता र विदेशी सवारी साधनको प्रयोग दुवै गैरकानुनी र जोखिमपूर्ण भएको बताएका छन्। तर, सम्बन्धित निकायहरू यस विषयमा अनभिज्ञ रहेको देखिएका छन्।
सामाजिक कार्यकर्ता एवं बालअधिकारका अभियन्ता सुन्दर श्याम रायले यस प्रकारको अभ्यास तुरुन्त बन्द गर्नुपर्ने जोड दिएका छन्। उनका अनुसार, बालबालिकालाई राजनीति र चुनावी गतिविधिमा प्रयोग गर्नु मानसिक तथा सामाजिक रुपमा हानिकारक हुन्छ भने, विदेशी नम्बर प्लेटको सवारी प्रयोगले स्थानीय सुरक्षा र नियमको उल्लंघन गर्दछ।
निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरूले बालबालिकाको प्रयोग रोक्न र विदेशी सवारी साधनको प्रयोग नियन्त्रण गर्न कडाइकासाथ निगरानी बढाउनुपर्ने देखिन्छ ।
No comments:
Post a Comment