Translate

Monday, February 2, 2026

"जनताको आवाज नै मेरो प्राथमिकता हो” – राजेन्द्र महतो

 



मधेशदूत समाचारदाता—
सर्लाही, माघ २०

  राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राजेन्द्र महतोले सर्लाही निर्वाचन क्षेत्र नं. २ मा जनतासँग प्रत्यक्ष संवादलाई आफ्नो चुनावी अभियानको मूल आधार बनाएका छन्। उम्मेदवारी दर्तापछि निरन्तर गाउँ–बस्ती र बजार केन्द्रमा पुगेर जनताको कुरा सुन्दै आएका महतोले “जनताको आवाज नै मेरो प्राथमिकता हो” भन्ने सन्देशलाई व्यवहारमा उतार्न खोजेका छन्।
   चुनावी अभियानका क्रममा महतोले सोमबार विभिन्न पालिका र वडाहरूमा पुगेर स्थानीय बासिन्दासँग खुला छलफल गरेका छन्। छलफलमा सडकको अवस्था, स्वास्थ्य सेवाको पहुँच, शिक्षाको गुणस्तर, रोजगारीको अभाव र सिंचाइ समस्या प्रमुख रूपमा उठेका थिए। ती विषयहरूलाई ध्यानपूर्वक सुन्दै महतोले जनताले उठाएका समस्यालाई आफ्नो चुनावी प्रतिबद्धताको आधार बनाउने स्पष्ट पारेका छन् ।
    कार्यक्रममा सहभागी स्थानीयले यसपटक महतो अघिल्ला निर्वाचनभन्दा फरक तयारी र आत्मविश्वासका साथ मैदानमा उत्रिएको प्रतिक्रिया दिएका छन्। महतोको अनुभव र मधेश केन्द्रित मुद्दामा निरन्तर सक्रियताले आफूहरू आशावादी बनेको उनीहरूको भनाइ छ।


युवा,महिला र पार्टी कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा रोजगारी र शिक्षा सुधारका विषयमा विशेष चासो देखिएको थियो। युवाहरूले स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न ठोस योजना आवश्यक रहेको बताउँदै महतोको नेतृत्वबाट त्यसमा पहल हुने अपेक्षा व्यक्त गरे।
   महतोले आफ्नो एजेन्डामा भौतिक पूर्वाधार विकास, कृषि आधुनिकीकरण, स्वास्थ्य सेवा विस्तार र शिक्षा प्रणाली सुधारलाई प्राथमिकतामा राखेका छन्। साथै उनले मधेशको पहिचान, अधिकार र समान विकासका मुद्दालाई संसदमा मजबुत रूपमा उठाउने प्रतिबद्धता दोहोर्‍याए।
पार्टीका स्थानीय कार्यकर्ताका अनुसार महतोको जनसम्पर्क अभियानले गाउँदेखि बजारसम्म सकारात्मक सन्देश प्रवाह गरेको छ र कार्यक्रममा सहभागी हुनेको संख्या दिनानुदिन बढ्दै गएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार सर्लाही क्षेत्र नं. २ मा प्रतिस्पर्धा कडा रहे पनि महतोको सक्रिय जनसंवाद, अनुभव र मुद्दा केन्द्रित अभियानले उनलाई बलियो दाबेदारको रूपमा स्थापित गरिरहेको छ।


   चुनाव नजिकिँदै जाँदा महतोका कार्यक्रमहरू थप व्यापक बन्दै जाने अपेक्षा गरिएको छ। जनताको प्रत्यक्ष सहभागिता र संवादले सर्लाही क्षेत्र नं. २ को चुनावी वातावरणलाई अझ सक्रिय र अर्थपूर्ण बनाएको देखिन्छ।


No comments:

Post a Comment