निर्वाचनको बेला ‘कन्टेन्ट’ र ‘आचारसंहिता’ बीचको द्वन्द्व सर्लाहीदेखि मधेश प्रदेशभरी चुनावी कन्टेन्टको बाढी
मनोज यादव----
सर्लाही,माघ २२
देशमा बेरोजगारीको चाप बढ्दै जाँदा युवाहरू वैकल्पिक रोजगारीको खोजीमा डिजिटल संसारतर्फ मोडिन थालेका छन्। स्मार्टफोन, इन्टरनेट र सामाजिक सञ्जालको सहज पहुँचले युट्युब, फेसबुक र टिकटकलाई नयाँ पेशागत प्लेटफर्म बनाइदिएको छ। यही आकर्षणका बीच पत्रकारिताको नाममा हुने गतिविधि भने पछिल्लो समय गम्भीर प्रश्नको घेरामा परेको छ।
विशेषतः निर्वाचन नजिकिँदै जाँदा युट्युबर र केही सञ्चारकर्मीबाट पत्रकार तथा निर्वाचन आचारसंहिता उल्लंघनका घटनाहरू बढ्दै गएको देखिन्छ। २०८२ साल फाल्गुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका सामग्रीले सञ्चार माध्यमको निष्पक्ष भूमिकामाथि नै प्रश्न उठाएको छ।
अघिल्लो पुस्ताका पत्रकारहरुका अनुसार पछिल्लो समय केही युट्युबर, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सञ्चारकर्मीले दल र उम्मेदवारको पक्ष वा विपक्षमा खुलेर समर्थन र विरोध जनाउने, घृणा र द्वेष फैलाउने अभिव्यक्ति दिने, तथा मत माग्ने सामग्री प्रकाशन–प्रसारण गरिरहेका छन्। “फलानो उम्मेदवारलाई भोट दिनुहोस्” भन्ने अभिव्यक्ति, उम्मेदवारसँगै हिँडेर भिडियो बनाउँदै मत माग्ने दृश्यहरू सामाजिक सञ्जालमा सामान्यझैँ देखिन थालेका छन्।
पत्रकारिता सूचना दिनका लागि हो, प्रभाव पार्नका लागि होइन। तर ‘भ्युज’, ‘लाइक’ र ‘सब्स्क्राइबर’को प्रतिस्पर्धाले कतिपयलाई आचारसंहिता बिर्साएर राजनीतिक प्रचारको माध्यम बनाएको उनीहरूको ठहर छ। निर्वाचन जस्तो संवेदनशील समयमा यस्तो गतिविधिले मतदाताको स्वतन्त्र निर्णय प्रक्रियामा असर पार्नुका साथै सञ्चार माध्यमप्रतिको विश्वाससमेत कमजोर बनाउने खतरा रहेको बताइन्छ।
यो समस्या सर्लाहीमा मात्र सीमित छैन। मधेश प्रदेशभर नै यस्ता गतिविधि फैलिएको देखिन्छ। ग्रामीण क्षेत्रदेखि शहरसम्म सामाजिक सञ्जालमार्फत प्रसारित सामग्रीले पत्रकारिता र राजनीतिक सक्रियताबीचको सीमारेखा धमिलिँदै गएको संकेत गर्छ।
नागरिक समाज र सरोकारवालाहरूले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सञ्चार क्षेत्रले जिम्मेवार भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्। कुनै दल वा उम्मेदवारको पक्ष–विपक्षमा नलागी तथ्यमा आधारित, सन्तुलित र जिम्मेवार पत्रकारिता गर्नु अहिलेको आवश्यकता भएको उनीहरूको भनाइ छ।
निर्वाचन लोकतन्त्रको उत्सव हो, र पत्रकारिता त्यसको ऐना। ऐनामा दाग लागे लोकतन्त्रको छवि नै धमिलिन्छ। त्यसैले ‘कन्टेन्ट’ बनाउने होडमा आचारसंहिता नबिर्सिनु आजको सबैभन्दा ठूलो चुनौती बनेको छ।
No comments:
Post a Comment