Translate

Thursday, February 5, 2026

अस्थायी डाइभर्सन बन्यो दुर्घटनाको ‘ट्रयाप’,

  


मधेशदूत समाचारदाता---
सर्लाही, माघ २२

     पूर्व–पश्चिम राजमार्ग विस्तारको नाममा बनाइएका अस्थायी डाइभर्सनहरू सवारी चालकका लागि ज्यान जोखिममा पार्ने ‘ट्रयाप’ बन्दै गएका छन्। सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जंगलमा बुधबार बिहान भएको कार दुर्घटनाले फेरि एकपटक सडक सुरक्षामा गम्भीर प्रश्न उठाएको छ।
    राति करिब २ बजेतिर पूर्वबाट पश्चिमतर्फ गइरहेको लु ३ च ५४७२ नम्बरको कार अस्थायी डाइभर्सनबाट खस्दै निर्माणाधीन कलभर्टको पिलरमा ठोक्किँदा २७ वर्षीय शुभम जैसवालको मृत्यु भएको छ। रुपन्देहीको बुटवल उपमहानगरपालिका–१ निवासी जैसवाल गम्भीर घाइते अवस्थामा उद्धार गरी बर्दिवासस्थित शुभस्वस्तिक अस्पताल लगिएको भए पनि उपचारका क्रममा मृत्यु भएको  प्रहरीले जनाएको छ।
   दुर्घटनामा कार चालक २३ वर्षीय साहिल बर्मा, ४८ वर्षीय बृजकिशोर बर्मा र ५२ वर्षीय संजय जैसवाल घाइते भएका छन्। उनीहरूको अवस्था मध्यम रहेको र सोही अस्पतालमा उपचार भइरहेको जिल्ला  प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।
   प्रहरीका अनुसार बाँके जंगलको तेस्रो मोडमा कलभर्ट निर्माणका लागि सडक छेउबाट बनाइएको अस्थायी डाइभर्सनमा पर्याप्त संकेत चिह्न, बत्ती र सुरक्षा व्यवस्थाको अभाव रहेको र सोही कारण कार अनियन्त्रित भई तल खसेको प्रारम्भिक अनुमान गरिएको छ।
  यस घटनापछि स्थानीयवासीले अस्थायी डाइभर्सनमा उचित साइनबोर्ड, रिफ्लेक्टर र ब्यारिकेड नराखिएको भन्दै सम्बन्धित निकायको लापरबाहीप्रति आक्रोश व्यक्त गरेका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले राजमार्गमा यात्रा गर्दा विशेषगरी रातिको समयमा तीव्र गति नगर्न, डाइभर्सन क्षेत्रमा अत्यन्तै सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
   सडक विस्तारको कामले गति लिँदै जाँदा सुरक्षा पक्षलाई बेवास्ता गरिए यस्ता दुर्घटना दोहोरिन सक्ने भन्दै स्थानीयले तत्काल सुधारको माग गरेका छन्।

No comments:

Post a Comment