Translate

Thursday, February 5, 2026

निर्वाचन सुरक्षा बलियो बनाउन सर्लाहीमा महिना दिनअगावै सेनाको गस्ती सुरु



मधेशदूत समाचारदाता
सर्लाही, माघ २२

   आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले सर्लाही जिल्लामा नेपाली सेनाको गस्ती महिना दिनअगावै सुरु गरिएको छ। यसपटक अघिल्ला निर्वाचनभन्दा फरक ढंगले समयमै सुरक्षा रणनीति कार्यान्वयनमा ल्याउँदै सेनाले जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा एकैसाथ गस्ती परिचालन गरेको हो।
   लालबन्दी नगरपालिका–२, पाँचकुमारीस्थित कालिध्वज गणका अनुसार बुधबार बिहानैदेखि जिल्लाभर नियमित गस्ती सुरु भइसकेको छ। गणपति प्रमुख सेनानी (कर्णेल) उमेश खड्काले निर्वाचन सुरक्षा पहिलो प्राथमिकतामा राख्दै क्षेत्रगत रूपमा गस्ती टोली खटाइएको जानकारी दिएका छन् ।
   उनका अनुसार निर्वाचन क्षेत्र नं. १ मा पाँचकुमारीस्थित कालिध्वज गणबाट, क्षेत्र नं. २ मा मलंगवास्थित सुरक्षा बेसबाट तथा क्षेत्र नं. ३ मा बागमतीस्थित सुरक्षा बेसबाट दैनिक रूपमा सेनाको गस्ती परिचालन हुनेछ। यसैगरी क्षेत्र नं. ४ अन्तर्गत धनकौल गाउँपालिकामा सेनानी (मेजर) को कमाण्डमा अस्थायी सुरक्षा बेस स्थापना गरी गस्ती सञ्चालन थालिएको छ।
   मलंगवा र बागमतीमा भने यसअघि नै मेजरको नेतृत्वमा नेपाली सेनाको स्थायी सुरक्षा बेस सञ्चालनमा रहेका छन्। ती बेसबाट पनि निर्वाचन लक्षित सुरक्षा गतिविधि थप सुदृढ बनाइएको जनाइएको छ।
  यसअघिका निर्वाचनहरूमा मतदान मिति नजिकिँदा मात्रै सेना परिचालन हुने गरेकोमा यसपटक भने नेपाल सरकारको निर्णयअनुसार एक महिना अगावै गस्ती सुरु गरिएको हो। यसले जिल्लामा सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्नुका साथै मतदाता र उम्मेदवारहरूमा सुरक्षा अनुभूति बढ्ने अपेक्षा गरिएको छ।
   समयमै सुरु गरिएको सेनाको सक्रिय उपस्थितिलाई जिल्लावासीहरूले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने सकारात्मक संकेतका रूपमा लिएका छन्।

No comments:

Post a Comment