मलंगवामा एच.पि.भी. खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
मधेशदूत समाचारदाता
सर्लाही, माघ २२
मलंगवा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी. (ह्युमन पापिलोमा भाइरस) खोप सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम बुधबार मलंगवा नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ।
पालिका स्तरीय खोप समन्वय समितिका पदाधिकारी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवाला निकायहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा एच.पि.भी. खोपको महत्व, प्रयोग विधि, लक्षित समूह तथा अभियान कार्यान्वयनका पक्षमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रम मलंगवा नगरपालिकाका नगर प्रमुख नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख विष्णुकान्त साहले कार्यक्रमको उद्देश्यसहित स्वागत मन्तव्य तथा जानकारी प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरीक्षक ज्ञानेन्द्र झाले गर्नुभएको थियो।
कार्यक्रममा स्वास्थ्य कार्यालय सर्लाहीका जनस्वास्थ्य अधिकृत सुशील झाले एच.पि.भी. खोप सम्बन्धी प्रस्तुतीकरण गर्दै पाठेघरको मुखको क्यान्सरको वर्तमान अवस्था, रोग निवारणका उपाय, खोपको मात्रा तथा खोप लगाउने विधिबारे सहभागीहरूलाई जानकारी गराउनुभएको थियो।
स्वास्थ्य शाखा प्रमुख साहका अनुसार मलंगवा नगरपालिकामा यही माघ २५ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने अभियान अन्तर्गत नगरभित्रका दुई हजारभन्दा बढी किशोरीहरूलाई एच.पि.भी. खोप लगाइनेछ। विद्यालय जाने किशोरीहरूको हकमा कक्षा ६ मा अध्ययनरत तथा विद्यालय नजाने किशोरीहरूको हकमा १० वर्ष मुनिका किशोरीलाई खोप लगाइनेछ। साथै, गत वर्ष खोप लगाउन छुटेका तथा गत वर्ष कक्षा ६ देखि १० सम्म अध्ययन गरेका र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई पनि खोप लगाइने जानकारी दिइएको छ।
कार्यक्रममा विशिष्ट अतिथि मलंगवा नगरपालिकाकी उपप्रमुख शकुन्तला देवी साह, वडा नं. ३ का वडा अध्यक्ष प्रमोद राय यादव, वडा नं. ८ का वडा अध्यक्ष मुकेश जयसवाल, प्रादेशिक अस्पताल मलंगवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. राम प्रकाश साह, योजना शाखा प्रमुख रामलाल सहनी, अतिथिहरू मो. सलिम मिकरानी, स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट संजय कुमार यादव, विभिन्न वडा स्वास्थ्य चौकीका प्रमुखहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले एच.पि.भी. खोप अभियान सफल बनाउन अभिभावक, विद्यालय तथा समुदायको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिएका थिए।
No comments:
Post a Comment