Translate

Wednesday, February 18, 2026

सर्लाहीमा चुनावको असर: मतदाता घर फर्किन थाले ,बजारमा चहलपहल बढ्यो

 


मधेशदूत समाचारदाता---
सर्लाही, फागुन ७

   आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा सर्लाही जिल्लामा आर्थिक गतिविधि बढ्न थालेको छ । उम्मेदवारले चुनाव प्रचार सुरु गरेसँगै गाउँदेखि सहरसम्म बजार चलायमान बनेका छन् ।
   चुनावी माहोलका कारण सहरदेखि गाउँघरका चिया–नास्ता पसलमा भीड बढेको छ । मलंगवाका एक चिया पसलेका अनुसार पहिले कम बिक्री हुने चिया अहिले धेरै बिक्न थालेको छ । चिया पिउँदै मानिसहरू चुनावका विषयमा छलफल गर्ने गरेका छन् । चिया बिक्री बढ्दा दूधको माग बढेको र किसानलाई पनि फाइदा पुगेको उनले बताए ।
   चुनावकै कारण बजारमा मानिसको आवतजावत बढेको छ । सवारीसाधन बढी चल्न थालेका छन् भने होटल–रेस्टुरेन्टमा ग्राहकको संख्या बढेको छ । गोडैता बजारका एक होटल सञ्चालकले बाहिर गएका मतदाता घर फर्किन थालेपछि होटल व्यवसाय राम्रो हुँदै गएको बताए ।
उम्मेदवारका ब्यानर, पोस्टर, पर्चा छाप्ने काम बढ्दा छापाखाना र स्थानीय व्यवसायीको कारोबार पनि बढेको छ । गाउँघर र बजारका चोक–चोकमा चहलपहल देखिन थालेको छ ।
कौडेनाका एक स्थानीयले भने, “जति चुनाव प्रचार बढ्छ, त्यति नै बजार चल्छ । अहिले व्यापार पनि बढेको छ ।”
  यसरी चुनावले सर्लाहीमा राजनीतिक गतिविधिसँगै स्थानीय बजार र व्यवसायलाई पनि चलायमान बनाएको छ ।

No comments:

Post a Comment