प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सर्लाहीमा दलहरूको सक्रियता बढ्यो जुलुस र घरदैलोमा केन्द्रित चुनावी प्रचार
मनोज यादव---
सर्लाही, फाल्गुन ७
आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सर्लाही जिल्लामा राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचारप्रसारलाई तीव्र बनाएका छन् । मतदातासम्म पुग्न उमेदवार तथा दलहरू घरदैलो, जुलुस, आमसभा र कोणसभामा सक्रिय देखिएका छन् ।
निर्वाचन आयोगले तोकेको ४ देखि १८ फाल्गुनसम्मको प्रचार अवधिलाई अधिकतम उपयोग गर्ने रणनीतिमा उम्मेदवारहरू छन् । उम्मेदवारी दर्तापछि घरदैलोमा केन्द्रित नेताहरू प्रचार अवधि सुरु भएसँगै सार्वजनिक सभा र जुलुसमार्फत पनि मतदातालाई आकर्षित गर्न थालेका हुन् ।
यसैक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले बुधबार सर्लाहीको सदरमुकाम मलंगवामा विशाल जुलुस आयोजना गरेको छ । बिहान ११ बजे वडा नम्बर–१० स्थित सहिद पार्कबाट सुरु भएको जुलुस क्षेत्र नम्बर–२ का उम्मेदवार रोविन महतोको नेतृत्वमा बजार क्षेत्रको परिक्रमा गर्दै चुनावी सभामा परिणत भएको थियो । जुलुसमा सयौँ कार्यकर्ता तथा समर्थकको सहभागिता रहेको थियो ।
अन्य दलका उम्मेदवारहरू पनि आ–आफ्ना निर्वाचन क्षेत्रमा सक्रिय छन् । उनीहरू घरघरमा पुगेर मतदाताका समस्या, गुनासा र अपेक्षा सुन्ने अभियानमा जुटिरहेका छन् । “ठूला सभाभन्दा घरदैलो अभियान प्रभावकारी हुन्छ,” एक उम्मेदवारले बताए ।
निर्वाचन मिति नजिकिँदै जाँदा सर्लाहीमा चुनावी गतिविधि थप बढ्ने देखिएको छ । मतदाता भेटघाट र प्रत्यक्ष संवादमा जोड दिँदा चुनावी माहोल क्रमशः तातिँदै गएको स्थानीयवासीहरू बताउँछन् ।
No comments:
Post a Comment