सर्लाहीमा उखु किसान अलपत्र: चलान पुर्जी नपाउँदा खेतमै सुक्दै लाखौँको उखु
मधेशदूत समाचारदाता----
सर्लाही, फागुन ७
चिनी मिलबाट समयमै चलान पुर्जी नपाउँदा सर्लाहीका उखु किसान गम्भीर समस्यामा परेका छन्। काटेर खेतमै थुपारिएको उखु दिनदिनै सुक्न थालेपछि किसानको मेहनत र लगानी जोखिममा परेको छ।
बरहथवा नगरपालिका वडा न–१३ का महमजान मियाँले १० कट्ठा उखु काटेको झण्डै २ हप्ता भइसकेको भए पनि चलान नपाएको गुनासो गरेका छन् । उनले खेतमै पत्करले छोपेर राख्न बाध्य भएको बताए। रामनगर गाउँपालिका–२, खैर्बाका रामप्रवेश यादवले पनि धनकौलस्थित चिनी मिलमा ट्याक्टर राखेर पालो कुर्नुपरेको अनुभव सुनाउए ।
जिल्लामा सञ्चालनमा रहेका इन्दुशङ्कर चिनी उद्योग हरिवन, महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकौलले सीमित मात्रामा चलान पुर्जी दिँदा किसानहरु ट्याक्टर, ट्रक र टायरगाढा उखु बोकेर दिनौंसम्म लाइनमा बस्न बाध्य हुनुपरेको छ।
किसानहरूले चलान पुर्जी वितरणमा पहुँच र बिचौलियाको चलखेल भएको आरोप लगाएका छन्। पहुँच भएकाले छिट्टै चलान पाउने, नपाउनेले दिनौँ कुर्नुपर्ने अवस्था रहेकाले किसानमा असमानता देखिएको छ।
उता, इन्दुशङ्कर चिनी उद्योगका उखु प्रबन्धक योगनारायण रजकले उखु खेती बढेकाले सबै किसानलाई एकैचोटि चलान दिन नसकिएको स्वीकार गरेको छ। किसानहरूले तालिका बनाएर पारदर्शी ढंगले चलान वितरण गर्नुपर्ने माग गरेका छन्। उनीहरूको भनाइ छ, नत्र खेतमै सुक्ने उखुले मेहनत र आम्दानीमा ठूलो नोक्सानी पुर्याउने खतरा छ।
सर्लाहीमा करिब १८ हजार हेक्टरमा उखु खेती हुने भएकाले उचित व्यवस्थापन र समयमै चलान वितरणको आवश्यकता बढेको छ।
No comments:
Post a Comment