मलंगवामा सब–इन्जिनियरको हत्या पछि त्रास, अदालतका कर्मचारी आन्दोलनमा उत्रिँदा न्यायिक सेवा अवरुद्ध
मधेशदूत समाचारदाता---
सर्लाही, फाल्गुन ५
सर्लाहीमा सब–इन्जिनियरको गोली हानी हत्या भएको घटनाले सरकारी कार्यालयका कर्मचारीहरूमा त्रास फैलिएको छ। सोही घटनापछि कर्मचारीको सुरक्षाबारे गम्भीर प्रश्न उठाउँदै सोमबार सर्लाही जिल्ला अदालत का कर्मचारीहरूले सम्पूर्ण सेवा अवरुद्ध गरेका छन्।
अदालतको मूलद्वारमै धर्ना दिँदै कर्मचारीहरूले “काम गर्ने वातावरण सुरक्षित हुनुपर्छ” भन्ने माग अघि सारेका छन्। पछिल्लो समय कर्मचारी लक्षित आपराधिक गतिविधि बढ्दै गएको भन्दै उनीहरूले राज्यबाट स्पष्ट सुरक्षा प्रत्याभूति नआएसम्म सेवा सञ्चालन गर्न नसकिने चेतावनी दिएका छन्।
आइतबार राति पूर्वाधार विकास कार्यालयमा कार्यरत ३६ वर्षीय सब–इन्जिनियर प्रमोदकुमार यादवको गोली प्रहारबाट हत्या भएको थियो। मलंगवा नगरपालिका–१० स्थित डेरामा बस्दै आएका उनलाई अज्ञात व्यक्तिले बाहिर बोलाएर गोली हानेको प्रहरीको भनाइ छ। उपचारका लागि अस्पताल पुर्याइए पनि उनको ज्यान जोगिन सकेन।
घटनाबारे जानकारी दिँदै सर्लाही प्रहरी प्रमुख योगेन्द्र कुमार खड्का ले सब–इन्जिनियर यादव आइतबार दिउँसो मात्रै बुबाको काजकिरिया सकेर मलंगवा फर्किएको जानकारी दिएका छन्। हत्या किन र कसले गर्यो भन्ने विषयमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको उनले बताए।
मृतककी श्रीमती पुनम यादवका अनुसार मोटरसाइकलमा आएका व्यक्तिले कोठाबाहिर बोलाएर अचानक गोली प्रहार गरेका थिए। प्रहरीका अनुसार उनको देब्रे छातीमा गोली लागेको थियो र घटनामा सानो हतियार (पेस्तोल) प्रयोग भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
सब–इन्जिनियर यादव मलंगवामा श्रीमती र दुई वर्षीया छोरीसँग बस्दै आएका थिए। उनको हत्याले परिवार मात्र होइन, समग्र कर्मचारी वृत्तमै शोक र असुरक्षाको भावना पैदा गरेको छ। यही असन्तोष र भयको अभिव्यक्तिका रूपमा अदालतका कर्मचारी आन्दोलनमा उत्रिएका छन्, जसका कारण सोमबार सर्लाही जिल्ला अदालतको नियमित सेवा ठप्प भएको थियो।
No comments:
Post a Comment