राष्ट्रसेवक कर्मचारीको हत्या विरुद्ध कर्मचारीहरुमा आक्रोश, कार्यक्षेत्र र व्यक्तिगत सुरक्षाको मागसहित बुझाए सिडियोलाई ज्ञापनपत्र
मधेशदूत समाचारदाता---
सर्लाही, फाल्गुन ५
कर्मचारी मिलन केन्द्र,सर्लाहीले सोमबार जिल्ला प्रशासन कार्यालय, सर्लाहीमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ।
मिलन केन्द्रका अध्यक्ष उपेन्द्र कुमार सिंह र सचिव दिलिप कुमार थापा द्वारा संयुक्तरूपमा हस्ताक्षरित ज्ञापनपत्रमा पूर्वाधार विकास कार्यालय, सर्लाहीमा कार्यरत सब इन्जिनियर प्रमोद कुमार यादवमाथि आइतवाे राति अज्ञात समूहले घरबाहिर बोलाई गोली प्रहार गरी हत्या गरेको घटनाको कडा विरोध गरिएको छ। केन्द्रले यस घटनालाई अमानवीय र निन्दनीय भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ।
मिलन केन्द्रले जनताको सेवामा खटिने कर्मचारीमाथि भएको यस्तो कायरतापूर्ण हत्याको निन्दा गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, पीडित परिवारको साथमा रहेको पनि जनाएको छ।
दिउँसो प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको कार्यकक्षमै पुगेर बुझाइएको उक्त ज्ञापनपत्रमार्फत घटनामा संलग्न दोषीहरूको छिटो पहिचान गरी पक्राउ गर्न, कानुनी कारबाही गर्न तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति र राहत दिन प्रशासनसँग माग गरिएको छ।
आसन्न निर्वाचनको समयमा कर्मचारीहरू फिल्डमा खटिनुपर्ने अवस्था रहेको उल्लेख गर्दै यस्तो घटनाले कर्मचारीहरूको मनोबल घटाएको केन्द्रको भनाइ छ। त्यसैले निर्वाचनमा खटिने तथा नियमित सेवा दिने सबै कर्मचारीहरूको कार्यक्षेत्र र व्यक्तिगत सुरक्षाको पूर्ण व्यवस्था गर्न प्रशासनसँग आग्रह गरिएको छ।
No comments:
Post a Comment