सर्लाहीमा चुनावी तयारी अन्तिम चरणमा, मतपत्र बाहेकका सबै आवश्यक सामग्री आइपुग्यो मतपत्र फागुन १० गतेपछि आउने
मधेशदूत समाचारदाता---
सर्लाही ,फाल्गुन ५
आसन्न फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सर्लाहीमा प्रशासनिक र सुरक्षा तयारी तीव्र गतिमा अघि बढाइएको छ। मतपत्र बाहेकका सबै आवश्यक सामग्री जिल्ला आइपुगेपछि चुनावी व्यवस्थापन अन्तिम चरणमा पुगेको सम्बन्धित निकायले जनाएको छ।
मलंगवास्थित जिल्ला निर्वाचन कार्यालयमा मतदान सामग्रीको प्याकिङ सुरक्षाकर्मीको उपस्थितिमा भइरहेको छ। प्याकिङ सकिएपछि ती सामग्री मतदानअघि सम्बन्धित निर्वाचन अधिकृतका कार्यालयमा पठाइनेछ। चारवटै निर्वाचन क्षेत्रका मतपत्र भने फागुन १० गतेपछि मात्र आउने जनाइएको छ।
यस निर्वाचनका लागि जिल्लाभर ३१२ मतदानस्थल अन्तर्गत ६२८ मतदान केन्द्र तोकिएका छन्। मतदान प्रक्रिया सहज बनाउन ३ हजार ७६८ कर्मचारी खटाइने तयारी छ। प्रत्येक केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सहायक कर्मचारी रहनेछन् भने आवश्यक परे स्थानीय सहयोगीसमेत परिचालन गरिनेछ। कर्मचारी छनोट र तालिमको काम पनि सँगसँगै अघि बढिरहेको छ।
सुरक्षाको पाटोलाई प्राथमिकतामा राख्दै प्रशासनले कडा व्यवस्था गरेको छ। निर्वाचन शान्तिपूर्ण बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप जनशक्ति परिचालन भइरहेको छ। काठमाडौंसहित विभिन्न गणबाट सुरक्षाकर्मी सर्लाही आइपुगेका छन्।
प्रशासनका अनुसार, सामग्री व्यवस्थापन, कर्मचारी परिचालन र सुरक्षा तयारी सन्तोषजनक रहेकोले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न कुनै अवरोध नआउने विश्वास गरिएको छ।
No comments:
Post a Comment