Translate

Sunday, February 8, 2026

मोबाइलको स्क्रिनमै चुनाव : रिल्स र टिकटकमा रमाउँदै मतदाता

  


मनोज यादव---
सर्लाही,माघ २५

     चुनाव सुरु भएसँगै सर्वसाधारणको हातमा रहेको मोबाइल फोनको स्क्रिन नै चुनावी मैदान बनेको छ। फेसबुक रिल्स, टिकटक र युट्युब सर्ट्समा उमेदवार र राजनीतिक दलका प्रचार सामग्रीले भरिँदा मतदाताले चुनावी बहस अब चिया पसल वा चौतारीमा होइन, मोबाइल स्क्रिनमै गर्न थालेका छन्।

   दल र उमेदवारहरूले छोटो, चटपटे र भावनात्मक कन्टेन्टमार्फत मतदाता आकर्षित गर्ने प्रयास तीव्र बनाएका छन्। कतै विकासका दाबीहरू गीत र संवादमा पस्किएका छन् भने कतै विपक्षी उमेदवारमाथि व्यंग्य र कटाक्ष। यस्ता सामग्रीले कतिपयलाई हसाउँछ, कतिपयलाई सोच्न बाध्य पार्छ भने कतिपयले राजनीतिलाई मनोरञ्जनकै रूपमा लिन थालेका छन्।

   ग्रामीण भेगका युवायुवतीदेखि ज्येष्ठ नागरिकसम्म यतिबेला टिकटक र रिल्समा सक्रिय देखिन्छन्। “पहिले चुनावी प्रचार भेला–सभा र पोस्टरमै सीमित थियो, अहिले भने बिहान उठेदेखि राति सुत्दासम्म मोबाइल खोल्नासाथ चुनाव मात्रै देखिन्छ,” मलंगवाका एक स्थानीय मतदाता भन्छन्, “कुन उमेदवार गम्भीर छन् र को केवल प्रचारमै सीमित छन् भन्ने पनि यिनै भिडियोबाट केही हदसम्म बुझिन्छ।”

तर यो डिजिटल प्रचारको अर्को पाटो पनि छ। समर्थनमुखी रिल्स जत्तिकै विपक्षी उमेदवारलाई लक्षित गर्दै बनाइने व्यंग्यात्मक, भ्रामक वा अतिरञ्जित सामग्री पनि तीव्र रूपमा फैलिएका छन्। तथ्यभन्दा भावना र ट्रेन्डलाई प्राथमिकता दिँदा मतदाता भ्रमित हुने खतरा बढेको सञ्चार विज्ञहरूको भनाइ छ।

   राजनीतिक विश्लेषकहरूका अनुसार छोटो भिडियोको प्रभाव तत्काल हुन्छ, तर दीर्घकालीन सोच कमजोर पार्न सक्छ। “रिल्स र टिकटकले ध्यान तान्छ, तर नीति, कार्यक्रम र दीर्घकालीन योजना बुझ्न अझै गहिरो बहस आवश्यक हुन्छ,”मलंगवाका अधिकारकर्मी सुन्दर श्याम राय  भन्छन्।

    सर्वसाधारण मतदाताले यसलाई नयाँ युगको चुनावी संस्कृतिका रूपमा लिएका छन्। कसैले हाँस्दै हेर्छन्, कसैले तुलना गर्छन्, कसैले आलोचना गर्छन्। मोबाइलको सानो स्क्रिनमा देखिने यी चुनावी दृश्यहरूले लोकतन्त्रको अभ्यासलाई नयाँ रूप दिएको छ । जहाँ प्रचार, आलोचना र मनोरञ्जन एकै ठाउँमा मिसिएका छन्।

  चुनाव नजिकिँदै जाँदा मोबाइलको स्क्रिन अझै रंगिनिने निश्चित छ।  मतदाताले यसलाई रमाइलोमा मात्र लिने कि त्यसै स्क्रिनबाट सही निर्णयतर्फ अघि बढ्ने हो ?

No comments:

Post a Comment