जनताको आवाज नै हाम्रो राजनीति : सर्लाही क्षेत्र न-२ उमेदवार भरत चौधरी
मधेशदूत समाचारदाता---
सर्लाही, माघ २८
चिसो मौसमको प्रतिकूलताबीच पनि सर्लाही क्षेत्र नं–२ अन्तर्गत संग्रामपुरमा आयोजित जनसंवाद कार्यक्रमले राजनीतिक माहोललाई तताएको छ । जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधि सभा सदस्य उम्मेदवार भरत चौधरीले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै जनताको आवाज नै आफ्नो राजनीतिक यात्राको मूल आधार भएको स्पष्ट पारेका छन् ।
कार्यक्रममा बोल्दै उम्मेदवार चौधरीले “राजनीति सत्ता वा पदका लागि होइन, जनताको दुःख–सुख बुझ्ने माध्यम हो । चिसो मौसममा पनि यहाँ उपस्थित जनताले देखाएको उत्साहले मलाई थप जिम्मेवार बनाएको छ ।” उनले संग्रामपुरसहित सर्लाही–२ का नागरिकका समस्या संसदमा सशक्त रूपमा उठाउने प्रतिबद्धता जनाए ।
जनताका प्रश्न र गुनासालाई ध्यानपूर्वक सुन्दै चौधरीले ती सबै मागलाई नीति तथा कार्यक्रममार्फत सम्बोधन गर्ने आश्वासन दिए ।
कार्यक्रममा सहभागी एक स्थानीयले भने, “नेताहरू चुनावमा मात्र होइन, समस्या पर्दा पनि जनतामाझ आउनुपर्छ । चौधरीसँगको संवादले भरोसा बढाएको छ ।”
चिसो मौसमका बाबजुद ठूलो संख्यामा स्थानीयको सहभागितासँगै सम्पन्न भएको संग्रामपुरको जनसंवाद कार्यक्रमले सर्लाही क्षेत्र नं–२ मा चुनावी सरगर्मी थप बढाएको छ ।
No comments:
Post a Comment