संविधान पुनर्लेखनदेखि ५०० अर्ब डलर अर्थतन्त्रसम्मको दाबी राष्ट्रिय मुक्ति पार्टीको घोषणापत्रमा आमूल परिवर्तनको एजेन्डा
मधेशदूत समाचारदाता---
सर्लाही,माघ २८
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय मुक्ति पार्टी, नेपालले उत्पीडित समुदायको अधिकार, स्वदेशी सोच र समावेशी राज्य संरचनालाई केन्द्रमा राखिएको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र महतोले ‘स्वदेशवादीको आह्वान, जाँतो छापमा मतदान’ नारासहित घोषणापत्र सार्वजनिक गर्दै नयाँ नेपाल निर्माणको स्पष्ट खाका प्रस्तुत गर्नुभएको हो ।
‘नयाँ नेपाल–साझा नेपाल’ निर्माणको संकल्पसहित सार्वजनिक घोषणापत्रमा नेपाललाई बहुल–राष्ट्रिय समाजका रूपमा स्वीकार गर्दै सबै आदिवासी, जनजाति, मधेशी, दलित, पिछडा वर्ग तथा अल्पसंख्यक समुदायलाई आत्मनिर्णय, स्वायत्तता र समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता दिने प्रतिबद्धता गरिएको छ । पार्टीले संविधान २०७२ लाई समावेशी बनाउन नसकेको ठहर गर्दै संविधानको पुनर्लेखनमार्फत बहुल–राष्ट्रिय संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने प्रस्ताव अघि सारेको छ ।
राष्ट्रिय मुक्ति पार्टीले एकल राष्ट्रवादको अन्त्य गर्दै साझा राज्य संरचना निर्माण गर्ने, परम्परागत स्वशासन प्रणालीलाई कानुनी मान्यता दिने तथा ग्राम स्वराजमार्फत स्थानीय स्वशासन सुदृढ गर्ने नीति अघि सारेको छ । यसले राज्य शक्ति केन्द्रमा सीमित नभई जनतासम्म पुग्ने विश्वास पार्टीले व्यक्त गरेको छ ।
आर्थिक क्षेत्रमा पार्टीले सामुदायिक भूमि तथा स्रोत स्वामित्वको अवधारणालाई अघि सार्दै आर्थिक असमानता अन्त्य गर्ने लक्ष्य लिएको छ । सहकारी मोडेलमा आधारित उत्पादन र वितरण प्रणाली, श्रमिकको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षाको ग्यारेन्टी तथा महिलाको सम्पत्तिमा समान अधिकार सुनिश्चित गरिने उल्लेख छ । जलविद्युत, खानी र वन स्रोतमा स्थानीय समुदायको पहिलो हक स्थापित गर्ने नीति घोषणापत्रको महत्वपूर्ण पक्ष बनेको छ ।
घोषणापत्रमा आगामी १० वर्षभित्र नेपालको कुल गार्हस्थ उत्पादन ४२ अर्ब डलरबाट ५०० अर्ब डलरसम्म पुर्याउने दूरदर्शी लक्ष्य अघि सारिएको छ । जलविद्युत, डिजिटल नवप्रवर्तन, कृत्रिम बुद्धिमत्ता, ब्लकचेन प्रविधि र स्वदेशी उत्पादनमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने स्पष्ट रणनीति पार्टीले प्रस्तुत गरेको छ ।
सामाजिक न्यायका सवालमा जातीय विभेद, छुवाछुत, लैंगिक, धार्मिक तथा क्षेत्रीय भेदभावको पूर्ण अन्त्य गर्ने प्रतिबद्धता जनाइएको छ । महिलालाई सबै क्षेत्रमा ५० प्रतिशत प्रतिनिधित्व, युवालाई रोजगारी र उद्यमशीलताको अवसर, बालअधिकारको प्रभावकारी कार्यान्वयन तथा महिला हिंसाविरुद्ध शून्य सहनशीलता नीति लागू गरिने घोषणापत्रमा उल्लेख छ ।
शिक्षा क्षेत्रमा पूर्वीय दर्शन र स्वदेशी ज्ञान प्रणालीमा आधारित नीति लागू गर्ने, आधारभूत तहदेखि मातृभाषामा निःशुल्क गुणस्तरीय शिक्षा, योग, ध्यान र आत्मरक्षा तालिमको व्यवस्था गर्ने जनाइएको छ । नेपालमा बोलिने सबै मातृभाषालाई संविधानको अनुसूचीमा सूचीकृत गरी बहुभाषिक सरकारी कामकाज नीति अवलम्बन गरिने पार्टीको धारणा छ ।
सुशासनको सवालमा स्वच्छ, पारदर्शी र जवाफदेही शासन प्रणाली स्थापना गर्ने प्रतिबद्धतासहित शक्तिशाली जनलोकपाल गठन गर्ने तथा ‘कसैलाई छुट छैन’ नीति अन्तर्गत भ्रष्टाचारविरुद्ध कडा कारबाही गरिने उल्लेख छ ।
विदेश नीतिमा राष्ट्रिय स्वार्थ र स्वाभिमानलाई केन्द्रमा राख्दै भारतसँग विशेष सम्बन्ध र चीनसहित अन्य मुलुकसँग सन्तुलित कूटनीतिक सम्बन्ध कायम गर्ने नीति पार्टीले अघि सारेको छ । साथै प्लास्टिकमुक्त नेपाल अभियान, हरित अर्थतन्त्र, नवीकरणीय ऊर्जाको प्रवर्द्धन तथा जलवायु न्यायका कार्यक्रम कार्यान्वयन गरिने घोषणापत्रमा उल्लेख छ ।
राष्ट्रिय मुक्ति पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी नेपाल र जनता समाजवादी पार्टी एक भएर ‘जाँतो’ चुनाव चिन्हमार्फत निर्वाचनमा सहभागी हुने अध्यक्ष महतोले जानकारी दिनुभयो । पार्टीले ‘स्वदेशवाद–जिन्दाबाद’ र ‘उत्पीडित राष्ट्रियताहरू एक हौँ’ नारासहित मतदातालाई जाँतो चिन्हमा मतदान गरी नयाँ इतिहास रच्न आह्वान गरेको छ ।
No comments:
Post a Comment