Translate

Friday, February 20, 2026

सर्लाही भन्सार स्तरोन्नति र पाँच वर्ष भित्र नवलपुर–मलंगवा ४ लेन सडक सुधारलाई प्राथमिकतामा राख्दै काँग्रेस उमेदवार डा. सरोज कुमारको भिजन र समृद्ध सर्लाही रोडम्याप सार्वजनिक


---
उद्योग, व्यापार र रोजगारी विस्तारका लागि “सर्लाही लगानी सम्मेलन”समेतको योजना---


मधेशदूत समाचारदाता---

सर्लाही, फाल्गुन ९

  सर्लाही निर्वाचन क्षेत्र नम्बर-२ मा नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. सरोज कुमारले आफ्नो भिजन र प्रतिबद्धतासहित समृद्ध सर्लाही निर्माणको स्पष्ट खाका सार्वजनिक गर्नुभएको छ। विकास, सुशासन र समान अवसरलाई केन्द्रमा राख्दै उहाँले भौतिक पूर्वाधारदेखि शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीसम्मका क्षेत्रलाई समेट्ने योजनाहरू अघि सार्नुभएको हो।

   उहाँले सर्लाही–२ लाई आर्थिक रूपमा सक्षम र पूर्वाधारयुक्त क्षेत्र बनाउने लक्ष्यका साथ मलंगवा भन्सारको स्तरोन्नति प्रमुख प्राथमिकतामा राख्नुभएको छ। हाल सञ्चालनमा रहेको भन्सारलाई आधुनिक र ठूलो भन्सार कार्यालयमा रूपान्तरण गरी व्यापार प्रवर्द्धन र राजस्व वृद्धि गर्ने योजना उहाँको छ।
     त्यस्तै, पाँच वर्षभित्र मलंगवा–नवलपुर सडकलाई चार लेनमा विस्तार गर्ने प्रतिबद्धता जनाउँदै उहाँले यसबाट आवागमन सहज हुनुका साथै स्थानीय व्यापार र उद्योगलाई समेत टेवा पुग्ने बताउनुभयो।
   रोजगार र उत्पादन वृद्धि गर्न सीप तथा कृषि विकासलाई प्राथमिकता दिँदै युवाका लागि सीपमूलक तालिम केन्द्र स्थापना गर्ने र कृषि प्रशिक्षण तथा अनुसन्धान संस्थान सञ्चालन गर्ने योजना सार्वजनिक गर्नुभएको छ। यसले युवा जनशक्तिलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने उहाँको विश्वास छ।
  स्वास्थ्य क्षेत्र सुधारका लागि १५ शैयाको अस्पतालमा MDGP र मेडिकल अफिसरको व्यवस्था गरिने तथा निर्वाचन सम्पन्न भएको एक महिनाभित्र प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा सञ्चालनमा ल्याइने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ।
   कृषि उत्पादन र बजार व्यवस्थापन सुदृढ गर्न माल भण्डार, बीउ भण्डार र शीत भण्डार स्थापना गरिने योजना अघि सार्दै उहाँले कृषकको उत्पादन सुरक्षित र लाभदायी बनाउने लक्ष्य राख्नुभएको छ। साथै पुराना नहरहरूको मर्मत तथा आधुनिक सिँचाइ प्रणाली विस्तार गरी खेतीयोग्य जमिनको उत्पादकत्व बढाइने बताउनुभयो।
   उद्योग, व्यापार र रोजगारी विस्तारका लागि “सर्लाही लगानी सम्मेलन” आयोजना गरी स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने योजना समेत उहाँको प्राथमिकतामा परेको छ।
   शान्ति र सुशासनतर्फ बलियो कानून कार्यान्वयन र नागरिक सुरक्षाको सुनिश्चितता गरिने उल्लेख गर्दै उहाँले पारदर्शी र उत्तरदायी शासन प्रणाली स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
   शिक्षा क्षेत्रमा गुणस्तरीय र व्यवहारिक शिक्षा प्रणाली विकास गर्ने तथा स्थानीय संस्कृति, आत्मसम्मान, पहिचान र संघीयताको संरक्षणमा विशेष ध्यान दिइने उहाँको भनाइ छ।
  समग्रमा, डा. सरोज कुमारले सर्लाही–२ को समृद्धि, समान अवसर र दिगो विकासका लागि स्पष्ट योजना र समयबद्ध प्रतिबद्धतासहित मतदातामाझ प्रस्तुत हुनुभएको छ।

No comments:

Post a Comment