आचारसंहिता कार्यान्वयनमा मिडियाको भुमिका प्रभावकारी : मुख्य निर्वाचन अधिकृत
मधेशदूत समाचारदाता
सर्लाही, फागुन ८
आसन्न निर्वाचनको सन्दर्भमा सदरमुकाम मलंगवामा ‘निर्वाचन आचारसंहिता र मिडिया’ विषयक अन्तरक्रिया कार्यक्रम शुक्रवार सम्पन्न भएको छ। निर्वाचनको निष्पक्षता, पारदर्शिता र विश्वसनीयता कायम राख्न सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया गर्न कार्यक्रमको आयोजना गरिएको हो।
प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ सर्लाही शाखाको संयोजनमा सम्पन्न कार्यक्रममा सहभागी पत्रकारहरूले आचारसंहिता पालनामा अझ सचेत र जिम्मेवार बन्ने प्रतिबद्धता जनाएका छन्।
कार्यक्रममा सर्लाहीका मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले अघिल्ला निर्वाचनको तुलनामा यस पटक आचारसंहिता कार्यान्वयनमा सुधार देखिएको दाबी गर्दै त्यसमा मिडियाको भूमिका निर्णायक रहेको बताए। “सञ्चारमाध्यमले सचेत गराएपछि दल र उम्मेदवारहरू पनि सतर्क बन्न बाध्य भएका छन्,” उनले भने।
प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले निर्वाचन आचारसंहिता राजनीतिक दलकै सहभागितामा बनेको स्मरण गराउँदै त्यसको कार्यान्वयनमा दलहरू अझ जिम्मेवार हुनुपर्ने धारणा राखे।
त्यस्तै प्रेस काउन्सिल नेपालका सदस्य शन्तराम बिडारीले निर्वाचनको संवेदनशील समयमा पत्रकारहरूले तथ्य, सन्तुलन र पेशागत मर्यादालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले पनि नकारात्मक र अपुष्ट समाचारले निर्वाचन वातावरण बिगार्न सक्ने भन्दै सत्यापनमा विशेष ध्यान दिन आग्रह गरे।
महासंघ सर्लाहीका जिल्ला अध्यक्ष ओमप्रकाश ठाकुरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुरक्षा निकायका प्रमुख, निर्वाचन अधिकारी तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
No comments:
Post a Comment