Translate

Friday, February 27, 2026

लोक सेवा प्रतिस्पर्धीबाटै भएको थियो सव–इन्जिनियरको हत्या

 


मधेशदूत समाचारदाता---
सर्लाही ,फाल्गुन १५ 

    सरकारी जागिरको प्रतिस्पर्धा कति घातक बन्न सक्छ भन्ने उदाहरण सर्लाहीमा देखिएको छ। मधेश प्रदेश लोक सेवा आयोगको परीक्षामा नाम निकालेर नियुक्ति पाएका सव–इन्जिनियर प्रमोद कुमार यादवको हत्या उनकै प्रतिस्पर्धी वैकल्पिक उम्मेदवारले गराएको पुष्टि भएको छ।
   जिल्ला प्रहरी कार्यालय सर्लाहीले शुक्रबार पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न तीन जनालाई सार्वजनिक गरेको छ । प्रहरीका अनुसार मुख्य योजनाकार गणेशकुमार महतो हुन्, जो सोही पदको वैकल्पिक सूचीमा परेका थिए।
प्रहरी अनुसन्धानले देखाएअनुसार नियुक्त भएको उम्मेदवारको एक वर्षभित्र मृत्यु भएमा वैकल्पिक सूचीबाट नाम सिफारिस हुन सक्ने कानुनी प्रावधानको गलत अर्थ लगाउँदै महतोले हत्या योजना बनाएका थिए। यही लोभमा परेर उनले  यादवलाई गोली हानी हत्या गराएको प्रहरीले बताएको छ ।
   यादवको फाल्गुन ३ गते मलंगवा–१० स्थित डेराको बरण्डामै गोली प्रहार गरी हत्या गरिएको थियो। घटनाका दिन महतो आफ्ना सालो चन्द्रकिशोर कुशवाहासँग मोटरसाइकलमा मलंगवा पुगेका थिए। प्रहरीले मुख्य योजनाकारसहित उनका सालो र भाइलाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।
अनुसन्धानका क्रममा अभियुक्तले हत्या गर्नुअघि नै हतियार खरिदका लागि पैसा दिएको खुलेको छ। घटनामा प्रयोग भएको पेस्तोल, गोलीको खोका, मोटरसाइकल र मोबाइल फोनसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। पेस्तोल ‘फरेन्सिक जाँच’का लागि पठाइने तयारी भइरहेको छ।
प्रहरीका अनुसार मृतक र मुख्य अभियुक्तबीच लोक सेवा आयोगको अन्तर्वार्ताका क्रममा चिनजान भएको थियो। त्यसपछि अभियुक्तले विभिन्न बहानामा पटक–पटक फोन सम्पर्क गर्दै अन्ततः घटना भएको दिन कोठा बाहिर बोलाएर गोली प्रहार गरेको खुलेको छ।
घटनाको अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीसमेत खटिएको थियो। पक्राउ परेका अभियुक्तविरुद्ध कर्तव्य ज्यान तथा हातहतियार खरखजना कसूरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सरोज राईले जनाएको छ।


No comments:

Post a Comment