समावेशिताको सन्देश: सर्लाहीका ३ मतदान केन्द्र महिला कर्मचारीको नेतृत्वमा
मधेशदूत समाचारदाता----
सर्लाही, फाल्गुन १५
फाल्गुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सर्लाहीमा समावेशिताको स्पष्ट सन्देश दिने गरी तीनवटा मतदान केन्द्र पूर्णरूपमा महिला कर्मचारीको जिम्मामा सञ्चालन हुने भएका छन्।
क्षेत्र नं. १ अन्तर्गत लालबन्दी नगरपालिका भित्रका दुई स्थान वडा नं. १० चन्द्रपुरस्थित आधारभूत विद्यालय चन्द्रपुर (क) र (ख) तथा वडा नं. ८ स्थित नगरपालिकाको नयाँ भवन (ख)मा मतदान अधिकृतदेखि कार्यालय सहयोगीसम्म सबै जिम्मेवारी महिलाले सम्हाल्ने निर्णय गरिएको निर्वाचन अधिकृत टीकाबहादुर थापाले जानकारी दिए।
उनका अनुसार यो व्यवस्था “प्राविधिक अभ्यास मात्र होइन, नेतृत्वमा महिलाको क्षमता र विश्वास देखाउने प्रयास” हो। स्थानीय तहका कर्मचारी, विद्यालयका शिक्षिका, बैंक तथा सरकारी कार्यालयमा कार्यरत महिला कर्मचारीलाई परिचालन गरी यी केन्द्र सञ्चालन गरिनेछ।
यी मतदान केन्द्रहरु निर्वाचन अधिकृतको कार्यालय नजिकै रहेकाले व्यवस्थापन, समन्वय र अनुगमनमा सहज हुने बताइएको छ। निर्वाचनको संवेदनशीलता, शान्तिपूर्ण वातावरण र मतदातामैत्री सेवा सुनिश्चित गर्न सक्षम तथा तालिमप्राप्त जनशक्ति खटाइएको कार्यालयको दाबी छ।
त्यसैगरी वडा नं. १३ पत्थरकोटस्थित कुशेश्वर आधारभूत विद्यालय छेडा (ख) मतदान केन्द्रमा भने शिक्षकहरूलाई मात्र खटाइएको छ, जसले मतदान प्रक्रियामा शैक्षिक जनशक्तिको भूमिकालाई समेत उजागर गरेको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार सर्लाहीभर निर्वाचनका लागि ३ हजार ७६८ कर्मचारी परिचालन गरिनेछन्। मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आवश्यक तालिम प्रदान गरिसकिएको छ।
No comments:
Post a Comment