मलंगवामा सब–इन्जिनियर हत्या प्रकरणको सफल अनुसन्धान गर्ने चार प्रहरी कर्मचारी सम्मानित
मधेशदूत समाचारदाता----
सर्लाही,फाल्गुन १७
३६ वर्षीय प्रमोद कुमार यादवको हत्या प्रकरणमा संलग्न आरोपी पक्राउ गरी कानुनी दायरामा ल्याउन महत्वपूर्ण भूमिका खेलेका प्रहरी कर्मचारीलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले नगद पुरस्कारसहित सम्मान गरेको छ।
पुरस्कार पाउनेहरुमा प्रहरी निरीक्षक विशाल बहादुर बुढाथोकी, प्रहरी निरीक्षक विरेन्द्र वि.सी., प्रहरी नायव निरीक्षक सुजन पुडासैनी र प्रहरी जवान अजय सहनी रहेका छन्। प्रहरीका अनुसार, उनीहरूले प्राविधिक र गोप्य सूचनाको उपयोग गरी फरार रहेका आरोपितहरूलाई पक्राउ गरी न्यायिक प्रक्रिया अघि बढाउन योगदान पुर्याएका छन्। घटनास्थल सर्लाहीको मलंगवा नगरपालिका वडान १० रहेको थियो।
जानकारी अनुसार, यादवलाई गत फागुन ३ गते साँझ फोन गरेर डेराबाट बाहिर बोलाइएको थियो र केहीबेरमा गोली प्रहार गरिएको थियो। उनको उपचारका क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको थियो। यो हत्या लोक सेवा आयोगको वैकल्पिक सूचीमा रहेका उम्मेदवारसँग सम्बन्धित व्यक्तिको योजनामा भएको पुष्टि भएको छ। यस प्रकरणमा सर्लाही प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीले अपराध नियन्त्रण र दोषीलाई कानुनी दायरामा ल्याउने कार्यमा खटिने कर्मचारीलाई प्रोत्साहन दिने नीति अनुरूप यो पुरस्कार प्रदान गरिएको प्रहरी प्रवक्ता एवं डिएसपी सरोज राईले जनाएको छ।
No comments:
Post a Comment