Translate

Thursday, February 5, 2026

पीडितमैत्री सेवातर्फ सर्लाही प्रहरीको अर्को कदम

 


मधेशदूत समाचारदाता----
सर्लाही,माघ २३

    सर्लाहीको बरहथवा नगरपालिकामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक लक्षित सेवा अझ प्रभावकारी बनाउने उद्देश्यले नयाँ सेवा केन्द्र भवन सञ्चालनमा आएको छ। इलाका प्रहरी कार्यालय बरहथवा परिसरमा निर्माण गरिएको उक्त भवनको बिहीबार औपचारिक उद्घाटन गरिएको हो।
   उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा उपस्थित प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नयाँ भवन सञ्चालनसँगै पीडितको गोपनीयता, सुरक्षा र सहज पहुँच सुनिश्चित हुने बताउनुभयो। उहाँले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित घटनामा संवेदनशील र पीडितमैत्री सेवा प्रवाह प्रहरीको प्राथमिकता रहेको उल्लेख गर्नुभयो।
   कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, बरहथवा नगर प्रमुख कल्पना कटवाल, विभिन्न जनप्रतिनिधि, सुरक्षा निकायका अधिकारीहरू तथा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
   इलाका प्रहरी कार्यालय बरहथवाको आयोजनामा सम्पन्न कार्यक्रममा भवन निर्माणमा अन्तर्राष्ट्रिय सहयोगी निकायहरूको समेत सहकार्य रहेको जानकारी दिइएको छ। 
   नयाँ सेवा केन्द्र सञ्चालनमा आएपछि घरेलु हिंसा, बालअधिकार उल्लंघन तथा ज्येष्ठ नागरिकसम्बन्धी उजुरीको सुनुवाइ र सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।

No comments:

Post a Comment