रात्री दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीको पहल,सडकमा चेतनामूलक बोर्ड र रिफ्लेक्टिभ स्टिकर जडान
मधेशदूत समाचारदाता
सर्लाही, माघ २९
सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरी कार्यालय मलंगवाले बुधबार विभिन्न स्थानमा सुरक्षा तथा व्यवस्थापनका कामहरू सम्पन्न गरेको छ ।
ट्राफिक प्रहरीले जिल्लाको कौडेना गाउँपालिका वडा नं. ३, पर्सा स्थित हुलाकी सडक खण्डको डाइभर्सन सडकमा रातको समयमा सवारी साधनको सुरक्षित आवतजावत सुनिश्चित गर्न सडकको दुवै साइडमा ड्रम राखी टल्किने (रिफ्लेक्टिभ) स्टिकर जडान गरेको छ । यसले राति देखिने क्षमतामा सुधार भई सम्भावित दुर्घटना रोकथाममा सहयोग पुग्ने विश्वास गरिएको छ ।
यसैगरी, सदरमुकाम मलंगवा नगरपालिका वडा नं. ४ स्थित कृष्ण ड्राइभिङ सेन्टर अगाडि दुर्घटना सम्भावित क्षेत्र जनाउँदै चेतनामूलक बोर्ड राखिएको छ । सो स्थानमा सवारी चालकलाई सतर्क गराई दुर्घटनाको जोखिम कम गर्ने उद्देश्य रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
त्यसैअनुसार मलंगवा नगरपालिका चोकदेखि कोष तथा लेखा नियन्त्रण कार्यालय(कोलेनिका)सम्मको सडक खण्डमा सवारी व्यवस्थापनलाई व्यवस्थित बनाउन एक साइड 'पार्किङ' र अर्को साइड ‘नो पार्किङ’ नियम लागू गरिएको छ । यसले ट्राफिक जाम न्यूनीकरण गर्नुका साथै पैदलयात्री र सवारी साधनको आवागमन सहज बनाउने अपेक्षा गरिएको छ ।
मलंगवा ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज तथा प्रहरी सहायक निरीक्षक (सई) रविन्द्र खडकाका अनुसार सवारी अनुशासन कायम गर्न र जनताको सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता उपायहरू अपनाइएको हो । उनले सबै सवारी चालकलाई ट्राफिक नियम पालना गर्न आग्रह गर्दै सहयोगको अपेक्षा पनि व्यक्त गर्नुभएको छ ।
No comments:
Post a Comment