Translate

Friday, February 13, 2026

संविधान संशोधनदेखि निःशुल्क शिक्षा,स्वास्थ्य र रंगशाला निर्माणसम्म : जसपा नेपालको चुनावी घोषणापत्र सार्वजनिक

 


मधेशदूत समाचारदाता---
सर्लाही,फाल्गुन १

     प्रतिनिधि सभाको आगामी निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले संविधान संशोधनलाई केन्द्रीय मुद्दा बनाउँदै शिक्षा, स्वास्थ्य, पूर्वाधार र खेलकुदमा महत्वाकांक्षी प्रतिबद्धता सहितको घोषणापत्र सार्वजनिक गरेको छ।
    शुक्रबार पार्टी अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक गरेको घोषणापत्रमा २०७२ सालको संविधानले संघीय समाजवादी व्यवस्थाको आधार निर्माण गर्न नसकेको दाबी गर्दै त्यसको संशोधन, परिमार्जन तथा आवश्यक परे पुनर्लेखनसम्मको प्रस्ताव अघि सारिएको छ।
    घोषणापत्रमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले पहिलो संविधान सभाबाट पारित राज्य पुनर्संरचनाका महत्त्वपूर्ण प्रावधान उल्ट्याएको आरोप लगाइएको छ। त्यसैले विद्यमान शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीलाई कायम राख्दै संविधान संशोधन गर्नुपर्ने जसपा नेपालको निष्कर्ष छ। यसका लागि संविधान विज्ञ सम्मिलित उच्चस्तरीय संविधान पुनरावलोकन आयोग गठन गर्ने प्रस्ताव गरिएको छ।
    निःशुल्क शिक्षा र स्वास्थ्यमा जोड
 जसपा नेपालले सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको छ। प्रत्येक प्रदेशमा अत्याधुनिक बहुविशिष्टिकृत अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने योजना घोषणापत्रमा समेटिएको छ।
    त्यस्तै, विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षा सार्वजनिक प्रणाली अन्तर्गत सञ्चालन गर्दै उच्च तहसम्म निःशुल्क शिक्षा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
     भ्रष्टाचारविरुद्ध कडा छानबिन
घोषणापत्रमा भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राख्दै २०४७ सालदेखि हालसम्मका निर्वाचित जनप्रतिनिधि, प्रधानमन्त्री, मन्त्री, उच्च पदस्थ कर्मचारी, सुरक्षा निकाय तथा संवैधानिक निकायका पदाधिकारीहरूको सम्पत्ति छानबिन गरिने उल्लेख छ।
      पूर्वाधार र खेलकुदमा ठूला योजनापूर्वाधार विकासतर्फ पाँच वर्षभित्र हुलाकी राजमार्ग सम्पन्न गर्ने, पूर्व–पश्चिम रेलमार्गलाई उच्च प्राथमिकतामा राख्ने तथा मधेसका जिल्लामा उत्तर–दक्षिण सडक सञ्जालसहित आर्थिक करिडोर विकास गर्ने योजना अघि सारिएको छ।
   खेलकुद क्षेत्रमा सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरका क्रिकेट तथा फुटबल रंगशाला आगामी पाँच वर्षभित्र निर्माण गर्ने प्रतिबद्धता घोषणापत्रमा समेटिएको छ।


     ग्रामीण विकास र सुरक्षित बसोबास
यसका अतिरिक्त एकीकृत ग्रामीण विकास योजना, योजनाबद्ध सहरीकरण र सुरक्षित बसोबास प्रवर्द्धनलाई पनि घोषणापत्रले प्राथमिकतामा राखेको छ।
   संविधान संशोधनलाई मूल एजेन्डा बनाउँदै सामाजिक–आर्थिक रूपान्तरणको एजेन्डा अघि सारेको जसपा नेपालको घोषणापत्रले निर्वाचन बहसमा नयाँ विमर्श थप्ने अपेक्षा गरिएको छ।

No comments:

Post a Comment