निर्वाचनलाई लक्षित गर्दै सर्लाहीमा सुरक्षा कडाइ फागुन १५ देखि २२ गतेसम्म विदेशी नम्बर प्लेटका सवारी साधन पुर्ण निषेध
मनोज यादव---
सर्लाही, फागुन १
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गराउने उद्देश्यले सर्लाहीमा सुरक्षा व्यवस्था कडा पारिने भएको छ। यसका लागि एक हप्तासम्म विदेशी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइने निर्णय गरिएको छ।
जिल्ला प्रशासन कार्यालय मलंगवामा शुक्रवार सुरक्षा निकायका प्रमुख तथा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा बसेको बैठकले मिति २०८२ फागुन १५ गतेदेखि २२ गतेसम्म भारतीय नम्बर प्लेटसहितका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन सञ्चालन गर्न नदिने निर्णय गरेको हो। निर्णय उल्लङ्घन गरी सवारी साधन सञ्चालन गरेको पाइएमा सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिने सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले जनाएको छ।
सीमावर्ती जिल्ला भएकाले सर्लाही तथा मधेश प्रदेशमा भारतीय नम्बर प्लेटका मोटरसाइकल र चार पाङ्ग्रे सवारीको प्रयोग उल्लेख्य रहेको भन्दै निर्वाचन सुरक्षामा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै यो कदम चालिएको हो।
बैठकले निर्वाचन आचारसंहिता, २०८२ जिल्लास्थित सबै राष्ट्रसेवक र राजनीतिक दलले इमान्दारिताका साथ पालना गर्ने निर्णय गरेको छ। साथै, निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबै राजनीतिक दलले प्रशासनलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
त्यसैगरी निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत पर्ने बलरा नगरपालिका वडा नं. १ स्थित कृषि सेड मिर्जाहथिऔल मतदान केन्द्रमा सुरक्षित भौतिक पूर्वाधारको अभाव देखिएकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी जिल्ला सुरक्षा समितिले वडाध्यक्षसहित सरोकारवालासँग छलफल गरी आवश्यक निर्णय गर्ने सहमति भएको छ।
बैठकमा जिल्लाको समग्र शान्ति सुरक्षा अवस्थाबारे समीक्षा गर्नुका साथै आउँदै गरेका महाशिवरात्रि, ग्याल्पो ल्होसार, रमजान र होली पर्वको अवसरमा आपसी सद्भाव, सहिष्णुता र शान्तिको कामना गर्दै शुभकामना आदान–प्रदान समेत गरिएको छ।
यसै दिन प्रमुख जिल्ला अधिकारी रामु राज कडरिया, मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलिया , प्रमुख सेनानी उमेश खडका,प्रहरी उपरीक्षक योगेन्द्र कुमार खडका,सशस्त्र प्रहरी उपरीक्षक अमर बहादुर खत्री ,नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ओम प्रकाश ठाकुर तथा जिल्लाका सञ्चारकर्मीसँग निर्वाचनसम्बन्धी अन्तरक्रिया गरी जिम्मेवार र तथ्यपरक समाचार सम्प्रेषणमा सहकार्यको अपेक्षा व्यक्त गरेका छन्।
No comments:
Post a Comment