Translate

Sunday, February 15, 2026

समावेशी राजनीतिका पक्षधर काँग्रेस उमेदवार डा. सरोज कुमार,अपाङ्गता भएका नागरिकसँग प्रत्यक्ष अन्तरक्रिया

 


मधेशदूत समाचारदाता----
सर्लाही,फाल्गुन ३

सर्लाही क्षेत्र न २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा.सरोज कुमारले अपाङ्गता भएका नागरिकहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्नुभएको छ। अन्तरक्रियाका क्रममा उहाँले अपाङ्गता भएका व्यक्तिहरूले भोग्दै आएका शारीरिक चुनौतीसँगै आर्थिक, सामाजिक तथा मानसिक समस्याहरू ध्यानपूर्वक सुन्नुभएको थियो।
    कार्यक्रममा बोल्दै उम्मेदवार डा. सरोजले कमजोर तथा पछाडि पारिएका वर्गलाई केवल समानताका आधारमा होइन, न्यायसहितको पहुँच र करुणाका साथ व्यवहार गरिनुपर्ने स्पष्ट धारणा राख्नुभयो। उहाँले नीति निर्माण गर्दा अपाङ्गता भएका नागरिकहरूको वास्तविक आवश्यकता, अवसर र सम्मानलाई केन्द्रमा राखिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
   “राजनीति तब मात्र अर्थपूर्ण हुन्छ, जब सुन्ने कान र बुझ्ने मन हुन्छ,” उहाँले भन्नुभयो, “अपाङ्गता कुनै कमजोरी होइन, राज्यको व्यवस्थापन र दृष्टिकोणको परीक्षा हो।”
अन्तरक्रियामा सहभागी अपाङ्गता भएका नागरिकहरूले शिक्षा, रोजगारी, स्वास्थ्य सेवा, पहुँचयुक्त पूर्वाधार तथा सामाजिक सुरक्षा कार्यक्रम अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए। उनीहरूले राजनीतिक नेतृत्वले घोषणाभन्दा कार्यान्वयनमा जोड दिनुपर्ने अपेक्षा पनि राखे।
   उक्त कार्यक्रम नेपाली काँग्रेसको समावेशी राजनीति र सामाजिक न्यायको अवधारणालाई व्यवहारमा उतार्ने प्रयासका रूपमा हेरिएको छ।

No comments:

Post a Comment