६२८ मतदान केन्द्र, ३ हजारभन्दा बढी कर्मचारी : सर्लाहीमा निर्वाचन तयारी तीव्र
मनोज यादव----
सर्लाही, फागुन ३
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सर्लाहीमा प्रशासनिक र सुरक्षा तयारी तीव्र पारिएको छ। जिल्लाभरका मतदान केन्द्रमा कर्मचारी व्यवस्थापनदेखि सामग्री आपूर्ति र सुरक्षासम्मको समन्वय अन्तिम चरणमा पुगेको छ।जिल्लाभर रहेका ६२८ मतदान केन्द्रमा करिब ३ हजार ७६८ कर्मचारी खटाइने योजना अनुसार नामावली छनोट प्रक्रिया अघि बढाइएको छ।
जिल्ला निर्वाचन कार्यालय सर्लाहीका अनुसार संघीय, प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारी र शिक्षकलाई प्राथमिकताका साथ परिचालन गरिनेछ। आवश्यकताअनुसार वैकल्पिक सूचीसमेत तयार पारेर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाइसकिएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्राप्त नामावलीबाट प्रत्येक निर्वाचन क्षेत्रका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य कर्मचारीको जिम्मेवारी तोक्नेछ। मतदान केन्द्रमा पुगेपछि मतदातालाई मसी लगाउने लगायत सहायक कार्यका लागि दुई जना स्थानीय सहयोगी कर्मचारी नियुक्त गर्ने व्यवस्था पनि गरिएको छ, जसले स्थानीय सहभागिता र सहजतालाई बल पुग्ने अपेक्षा गरिएको छ।
सुरक्षातर्फ मतदानलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन बहुपक्षीय सुरक्षा व्यवस्था मिलाइँदैछ।
मतदान केन्द्रमा निर्वाचन आयोगको निर्देशनअनुसार निर्वाचन प्रहरीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन हुनेछन्। सुरक्षा निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउन क्षेत्रगत योजना तयार पारिएको जनाइएको छ।
यसैबीच मतदान मिति नजिकिँदै जाँदा मतपत्रसहितका निर्वाचन सामग्री क्रमशः जिल्लामा आइपुग्ने तयारी छ। सामग्री आपूर्ति, भण्डारण र ढुवानीलाई सुरक्षित र समयमै सम्पन्न गर्न प्रशासनिक संयन्त्र सक्रिय बनाइएको छ।
जिल्लामा निर्वाचनको माहोल शान्त र व्यवस्थित बनाउन सरोकारवाला सबै निकाय एकसाथ जुटिरहेका छन्।
No comments:
Post a Comment