मलंगवामा गोली प्रहारबाट इन्जिनियरको मृत्यु
मधेशदूत समाचारदाता---
सर्लाही ,फागुन ३
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका–१० स्थित देवीटोलमा गोली प्रहारबाट एक जना इन्जिनियरको मृत्यु भएको छ।
सिरहा जिल्लाको सुखीपुर नगरपालिका–६ स्थायी घर भई हाल मलंगवा–१० मा स्थानीय दुर्गानन्द यादवको घरमा डेरा गरी बस्दै आएका ३६ वर्षीय प्रमोद कुमार यादवमाथि अज्ञात व्यक्तिले गोली प्रहार गरी फरार भएका हुन्। प्रमोद कुमार यादव जिल्ला पूर्वाधार विकास कार्यालयमा कार्यरत इन्जिनियर थिए।
प्रहरीका अनुसार मिति आज(आइतवार) राति करिब ८:०५ बजे घर अगाडिको प्यासेजमा गोली लागेर ढलेको अवस्थामा उनलाई उनकी श्रीमतीले देखेपछि तत्काल जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई जानकारी गराएकी थिइन्।
सूचना प्राप्त हुनासाथ एसपी योगेन्द्र कुमार खड्काको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घाइते अवस्थामै इन्जिनियर यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएकोमा राति ८:३७ बजे चिकित्सकले मृत घोषणा गरेका छन्।
घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजीका लागि अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको छ।
No comments:
Post a Comment