लैंगिक रुपान्तरणात्मक समावेशी कक्षाकोठा व्यवस्थापन तालिम सम्पन्न
मधेशदूत समाचारदाता
सर्लाही, फागुन १२
सर्लाही जिल्लाका दुई पालिकामा सञ्चालन भएको ३ दिने गैर–आवासीय लैंगिक रुपान्तरणात्मक समावेशी कक्षाकोठा व्यवस्थापन तालिम सोमबार सम्पन्न भएको छ। प्लान इन्टरनेशनल नेपाल र राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK) मलंगवाको संयुक्त साझेदारीमा तालिम आयोजना गरिएको हो।
जिल्लाको कौडेना, चक्रघट्टा, बसबरिया र धनकौल गाउँपालिकामा सञ्चालन भइरहेको ‘आभा (Abha) परियोजना’ अन्तर्गत बसबरिया र धनकौल गाउँपालिकाका शिक्षक तथा शिक्षा शाखाका प्रतिनिधिहरूलाई तालिम प्रदान गरिएको थियो। प्रत्येक पालिकाबाट १०/१० वटा विद्यालयका २१/२१ जना सहभागी रहेका थिए।
बसबरिया गाउँपालिकाका सहभागीहरूका लागि मलंगवा स्थित महेन्द्र होटलमा तथा धनकौल गाउँपालिकाका सहभागीहरूका लागि गाउँपालिकाको सभाहलमा तालिम सञ्चालन गरिएको थियो।
सहभागीहरुलाई प्रादेशिक शिक्षक तालिम केन्द्र बाराका प्रशिक्षकद्वय खड्ग बहादुर श्रेष्ठ र राम सिहासान यादवले सहजीकरण गरेका थिए।
तालिममा लैंगिकता सम्बन्धी आधारभूत अवधारणा, विद्यालयमा विद्यमान लैंगिक रुढीवाद र पूर्वाग्रह, नीति तथा कानुनी प्रावधान, लैंगिक अवरोधको विश्लेषण, समावेशी कक्षाकोठा निर्माण, रुपान्तरणकारी शिक्षण विधि, विद्यालयमा हुने लैंगिक हिंसा तथा रोकथाम, विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक समिति र समुदायको भूमिका, कार्यमा आधारित पाठयोजना तथा शिक्षक कार्ययोजना निर्माणलगायत विषयमा प्रशिक्षण दिइएको आरआरपीकेका कार्यक्रम संयोजक जयनेन्द्र कुमार साहले जानकारी दिए।
बसबरिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिन बहादुर थापाका अनुसार शिक्षा क्षेत्रमा कार्यरत जनशक्तिका लागि यस प्रकारको तालिम प्रभावकारी सावित भएको छ। सहभागीहरूले ३ दिनको अवधि अपर्याप्त भएको उल्लेख गर्दै आगामी दिनमा समयावधि थप गर्न सुझाव दिएका थिए।
समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो। कार्यक्रममा आरआरपीकेका उपाध्यक्ष बजरंग प्रसाद साह, कार्यकारी निर्देशक शिवजी प्रसाद साह, बसबरिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थापा, प्लान इन्टरनेशनलका प्रतिनिधि राम नारायण साह तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।
No comments:
Post a Comment