जनाधार, विकास र पहुँचयोग्य नेतृत्वको समीकरण: सर्लाही–१ मा प्रमोद साह बलियो दाबेदार
मधेशदूत समाचारदाता
सर्लाही, फाल्गुन १२
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सर्लाही क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढेको छ। स्थानीय तह निर्वाचन २०७९ को परिणाम, पछिल्लो पाँच वर्षमा भएका विकास निर्माणका काम र जनतासँगको प्रत्यक्ष सम्बन्धलाई आधार मान्दा प्रमोद साह पुनः बलियो दाबेदारका रूपमा देखिएका छन्।
यस क्षेत्रमा रहेका ४९ वडामध्ये १४ वटा वडा तत्कालीन नेकपा (माओवादी केन्द्र) सहित हाल बनेको नेकपा पक्षले जितेको तथ्यांकले पनि संगठनात्मक आधार मजबुत रहेको संकेत गर्छ। चन्द्रनगर गाउँपालिकाका तीन, ईश्वरपुर नगरपालिकाका एक, लालबन्दीका ६, कविलासीका एक र हरिपुर नगरपालिकाका तीन वडा नेकपाको पक्षमा रहनुले क्षेत्रीय संरचना सुदृढ रहेको विश्लेषण स्थानीय राजनीतिक जानकारहरू गर्छन्। धेरै वडामा झिनो मतान्तरले पराजित भएको तथ्यले पनि मत आधार फराकिलो रहेको देखिन्छ।
स्थानीयहरूका अनुसार साहको सबल पक्ष केवल दलगत समर्थन मात्र होइन, पहुँचयोग्य र सक्रिय प्रतिनिधिको छवि हो। निर्वाचित भएपछि जनताबाट टाढिने प्रवृत्तिको व्यापक गुनासो बीच साह भने प्रतिनिधिसभा सदस्य रहँदा र अन्य समयमा पनि जनताको दुःख–सुखमा प्रत्यक्ष सहभागी हुने नेताका रूपमा परिचित छन्। “समस्या लिएर जाँदा सुन्ने र सकेसम्म समाधान गर्ने नेता” भन्ने छवि उनका पक्षमा सकारात्मक कारक बनेको छ।
विकास निर्माणतर्फ पनि साहको कार्यकाल उल्लेखनीय रहेको समर्थकहरूको दाबी छ। करिब २,५०० जनता आवास, १,२०० सुरक्षित नागरिक आवास, ७२ सामुदायिक भवन, ३६ विद्यालय भवन निर्माण, चार मुख्य तथा पाँच सहायक सडक कालोपत्रे, धार्मिक स्थलहरूको संरक्षण, कृषियोग्य जमिन संरक्षणका लागि नदी नियन्त्रण, डिप बोरिङ र साना ट्युबवेल जस्ता योजनाले ग्रामीण भेगमा प्रत्यक्ष प्रभाव पारेको बताइन्छ। स्वास्थ्य र विद्युत् क्षेत्रमा गरिएका पहलले पनि जनजीवनमा सहजता थपेको स्थानीयको अनुभव छ।
यस पटकको निर्वाचनमा साहलाई जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (एमाले) र नेपाली कांग्रेसका केही समर्थक वर्गबाट समेत मत आउने आकलन गरिएको छ। विशेषगरी शम्भुलाल श्रेष्ठ प्रति केही असन्तुष्टि र एमालेभित्रको मतान्तरले पनि साहलाई लाभ पुग्न सक्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ।
चुनावी प्रचारका क्रममा घरदैलोमा पुग्दा साहलाई स्थानीयले उत्साहपूर्वक स्वागत गरिरहेको दृश्यले पनि चुनावी माहोल उनको पक्षमा बन्दै गएको संकेत गर्छ। दलगत सीमाभन्दा माथि उठेर विकास र पहुँचलाई प्राथमिकता दिएको सन्देशले सर्लाही–१ मा उनको प्रतिस्पर्धा अरू उम्मेदवारभन्दा फरक बनाएको देखिन्छ।
यद्यपि अन्तिम निर्णय मतदाताकै हातमा रहनेछ। तर वर्तमान समीकरण, विगतको कार्यसम्पादन र जनसम्पर्कको आधारमा सर्लाही–१ मा प्रमोद साहको सम्भावना बलियो देखिएको स्थानीय विश्लेषण छ।
No comments:
Post a Comment