मलंगवा–२ कृष्णा चौकमा राधा–कृष्ण मन्दिरमा प्राणप्रतिष्ठा,सयौं दर्शनार्थीहरुको भिड
मधेशदूत समाचारदाता---
सर्लाही, माघ २५
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका–२ स्थित कृष्णा चौकमा निर्माण भएको भव्य राधा–कृष्ण मन्दिरमा शनिबार विधिवत् रूपमा मूर्तिको प्राणप्रतिष्ठा गरिएको छ। वैदिक मन्त्र, पूजा–अर्चना र धार्मिक विधिअनुसार सम्पन्न प्राणप्रतिष्ठा समारोहमा सयौं स्थानीय भक्तजन तथा दर्शनार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
प्राणप्रतिष्ठाको अवसरमा बिहान राधा–कृष्णको डोलासहित नगर परिक्रमा गरिएको थियो। नगरका विभिन्न स्थान हुँदै निकालिएको डोलायात्राले पूरै क्षेत्र धार्मिक र भक्तिमय वातावरणले भरिएको थियो। परम्परागत बाजागाजा, भजन–कीर्तन र जयघोषका बीच मन्दिर परिसरमा विशेष पूजा सम्पन्न गरिएको हो।
स्थानीय जनसमुदायको आर्थिक सहयोग र श्रमदानबाट करिब दस वर्षअघि सुरु गरिएको मन्दिर निर्माण कार्य प्रारम्भिक चरणमा स्थानीयकै सक्रियतामा अघि बढेको थियो। पछि प्रदेश सरकारको सहयोग प्राप्त भएपछि निर्माण कार्यले तीव्रता पाएको वडा नं. २ का वडाअध्यक्ष धिरेन्द्र साहले जानकारी दिए। उनका अनुसार हालसम्म मन्दिर निर्माणमा करिब एक करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ।
मन्दिर संरचना निर्माण सम्पन्न भइसके पनि प्राणप्रतिष्ठा बाँकी रहेकाले स्थानीयको सल्लाह र सहमतिमा विशेष धार्मिक कार्यक्रम आयोजना गरी उक्त कार्य सम्पन्न गरिएको मन्दिर निर्माण समितिका सचिव संतोष यादवले जनाएको छ।
प्राणप्रतिष्ठा कार्यक्रमको अवसरमा मलंगवा नगरपालिकाका मेयर प्रत्याशी तथा सफल व्यवसायी नागेश्वर राय यादवले रिबन काटेर मन्दिरको औपचारिक उद्घाटन गरेका थिए।
कार्यक्रममा मधेश प्रदेशका पूर्व यातायात मन्त्री कौशल किशोर राय, सर्लाही क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेन्द्र राय यादव, वडा नं. २ का वडाअध्यक्ष धिरेन्द्र साह, वडा नं. ९ का वडाअध्यक्ष चन्देश्वर राय, मन्दिर निर्माण समितिका पदाधिकारीहरू तथा ठूलो संख्यामा स्थानीय भक्तजनको उपस्थिति रहेको थियो।
माघ २२ गते कलश यात्रा निकालेर सुरु भएको धार्मिक समारोह माघ २६ गतेसम्म चल्ने आयोजकले जनाएको छ। यस अवधिमा यज्ञ–हवनका लागि भारतको वृन्दावनबाट साधु–सन्तहरूलाई आमन्त्रण गरिएको छ भने दैनिक रूपमा रासलीला कार्यक्रमसमेत सञ्चालन भइरहेको छ।
यस मन्दिरमा हरेक वर्ष कृष्ण जन्माष्टमीको अवसरमा भव्य मेला आयोजना हुँदै आएको छ।
No comments:
Post a Comment