रोयल कप मलंगवाको छैठौँ वार्षिक साधारण सभा सम्पन्न, अजित कुमार साह पुनः अध्यक्षमा सर्वसम्मत चयन
मधेशदूत समाचारदाता---
सर्लाही,माघ २५
सर्लाहीको मलंगवामा रोयल कप मलंगवाको छैठौँ वार्षिक साधारण सभा तथा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार भव्य रूपमा सम्पन्न भएको छ।
क्रिकेट टुर्नामेन्टका लागि जिल्लामै परिचित संस्था रोयल कप मलंगवाले आयोजना गरेको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष अजित कुमार साह पुनः अध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन भएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले खेलकुद, विशेषगरी क्रिकेटले युवालाई अनुशासन, मेहनत र लक्ष्यप्रति प्रतिबद्ध बनाउने उल्लेख गरे। उनले सर्लाहीका युवा क्रिकेटर गुल्सन झाको उदाहरण प्रस्तुत गर्दै खेलकुदको माध्यमबाट स्थानीय तहदेखि अन्तर्राष्ट्रिय स्तरसम्म पहिचान बनाउन सकिने बताए। साथै उनले रोयल कपजस्ता संस्थालाई अझ सशक्त बनाउन सम्बन्धित निकायहरूको सहयोग आवश्यक रहेकोमा जोड दिए।
रोयल कप मलंगवाका निर्देशक विजय कुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मलंगवा नगरपालिका–९ का वडा अध्यक्ष चन्देश्वर राय, कार्यक्रम संयोजक अमित शर्मा, कानुनी सल्लाहकार अधिवक्ता राजेश पासवान, वरिष्ठ सल्लाहकार प्रभांस साह, सोहन झा, श्री आधारभूत प्रावि मलंगवा -९ का प्रधानाध्यापक सन्तोष कर्ण, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य कैमुल हुसैन, ‘We Care We Can’ का अध्यक्ष लक्ष्मण यादव, विवेक पासवान,हिन्दू सम्राट सेना नेपाल भाँडसरका अध्यक्ष आलोक अधिकारी, पत्रकारलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
आयोजकका अनुसार रोयल कप मलंगवाको चौथो अध्यक्षका रूपमा पनि अजित कुमार साहलाई सर्वसम्मत रूपमा चयन गरिएको हो। कार्यक्रम मलंगवा नगरपालिका–१० स्थित आवासीय ब्राइट फ्युचर विद्यालयमा आयोजना गरिएको थियो भने शुभकामना आदान–प्रदान कार्यक्रमको सञ्चालन नवनिर्वाचित अध्यक्ष साहले नै गरेका थिए।
रोयल कप मलंगवाले जिल्लामा नियमित रूपमा क्रिकेट टुर्नामेन्टसहित विभिन्न खेलकुद गतिविधि सञ्चालन गर्दै आएको छ। छैठौँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएकोमा समिति सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गरिएको छ।
कार्यक्रममा वक्ताहरूले खेलकुदको माध्यमबाट समाज निर्माण सम्भव रहेको उल्लेख गर्दै विद्यालयस्तरका नयाँ प्रतिभालाई अघि बढाउन रोयल कपजस्ता संस्थाको भूमिका महत्वपूर्ण रहेको बताए। वि.स. २०७६ सालमा स्थापना भएको रोयल कप मलंगवाले विद्यालयस्तरका प्रतिभालाई क्रिकेट प्रतियोगितामार्फत अगाडि ल्याउने उद्देश्यका साथ निरन्तर काम गर्दै आएको अध्यक्ष साहले जानकारी दिए।
No comments:
Post a Comment