Translate

Monday, February 2, 2026

सर्लाहीमा बढ्दो सडक दुर्घटना ,दुई पाङ्ग्रे सवारी सबैभन्दा बढी जोखिमम /६ महिनामै गयो २९ जनाको ज्यान

 



मधेशदूत समाचारदाता----
सर्लाही, माघ १९

    सडक सुरक्षा कमजोर बन्दै जाँदा सर्लाही जिल्लामा चालु आर्थिक वर्षको पहिलो छ महिनामै २९ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । झन्डै दुई सय नागरिक गम्भीर घाइते हुँदा जिल्लाको सडक अवस्था चिन्ताजनक बनेको छ ।
    जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको ६ महिनासम्मको अवधिमा सर्लाहीका राजमार्ग तथा भित्री सडकमा ६४१ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा १९० जना गम्भीर घाइते भएका छन् भने दर्जनौं सामान्य घाइते उपचारपछि घर फर्किएका छन् ।
दुर्घटनामा मृत्यु हुनेमध्ये अधिकांश मोटरसाइकल चालक तथा सवार व्यक्ति रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरीक्षक अशोक साहले जानकारी दिए । उनका अनुसार विशेषगरी भित्री सडकखण्ड, ग्रामीण बाटो तथा चोक क्षेत्रमा दुर्घटना बढी हुने गरेको छ ।
   ट्राफिक नियमको बेवास्ता, तीव्र गति, हेलमेट नलगाउने, मापदण्डविपरीत सवारी चलाउने तथा पैदलयात्रीको लापरवाही दुर्घटनाका मुख्य कारण रहेको प्रहरीको निष्कर्ष छ । यही अवस्थालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले विद्यालयका विद्यार्थी, स्थानीयवासी तथा पैदलयात्रीलाई सहभागी गराई पटक–पटक सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।


   त्यसैगरी नियम उल्लंघन गर्ने सवारी साधनमाथि गरिएको कारबाहीबाट ६ महिनामै ४८ लाख २८ हजार ५०२ रुपैयाँ राजस्व संकलन भएको छ । चालक अनुमतिपत्र नभएका, हेलमेट नलगाएका, यात्राअनुमति विना सवारी चलाएका तथा क्षमताभन्दा बढी सामान बोकेका सवारी साधनलाई प्राथमिकतामा राखी कारबाही गरिएको प्रहरीले जनाएको छ ।
   पूर्व–पश्चिम राजमार्गसहित जिल्लाका प्रमुख सडकमा नियमित जाँच बढाइएको र लामो दूरीका यात्रुवाहक बसमा दुई जना चालक अनिवार्य गरिएको नियममा पनि कडाइ गरिएको छ । यस अवधिमा ७ हजार २७ वटा लामो दूरीका बस जाँच गर्दा २२ वटाले नियम उल्लंघन गरेको पाइएपछि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
  प्रहरीले सडक दुर्घटना न्यूनीकरणका लागि चालक, पैदलयात्री र सरोकारवाला निकाय सबैको जिम्मेवारी र सचेतना अपरिहार्य रहेको जनाएको छ ।

No comments:

Post a Comment