Translate

Monday, February 2, 2026

सर्लाही र रौतहटका आठ स्थानीयहरुको सहभागितामा RHEA परियोजनाको दुई दिने आन्तरिक समीक्षा तथा क्रस–लर्निङ कार्यक्रम सम्पन्न

 


मधेशदूत समाचारदाता—
सर्लाही, माघ १९

   नर्वेजियन सरकार र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA) नेपालको सहयोग तथा आसमान नेपालको साझेदारीमा सञ्चालित Reproductive Health and Rights for Accelerating Impacts (RHEA) परियोजनाको आन्तरिक समीक्षा तथा क्रस–लर्निङ वर्कशप सर्लाहीको मलंगवामा दुई दिने छलफलपछि आइतबार सम्पन्न भएको छ।
   सर्लाही र रौतहट जिल्लाका आठवटै स्थानीय तह, स्वास्थ्य कार्यालय तथा प्रादेशिक अस्पतालहरूको सक्रिय सहभागितामा सम्पन्न उक्त कार्यक्रममा RHEA परियोजनाबाट हासिल भएका उपलब्धि, सिकाइ र व्यवहारिक अनुभवमाथि विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले परियोजनाले यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार (SRHR) को क्षेत्रमा स्थानीय तहमा सकारात्मक परिवर्तन ल्याएको निष्कर्ष निकालेका छन् ।


   असल अभ्यास र सिकाइ साझा
दुई दिने कार्यक्रममा सर्लाहीका गोडैता नगरपालिका, बसबरिया, विष्णु र कौडेना गाउँपालिका तथा रौतहटका गौर, राजपुर, ईशनाथ नगरपालिका र यमुनामाई गाउँपालिकामा सञ्चालन भएका RHEA गतिविधि, प्रगति र सफल अभ्यास प्रस्तुत गरिएका थिए। साथै स्वास्थ्य कार्यालय सर्लाही र रौतहट तथा प्रादेशिक अस्पताल मलंगवा र गौरले अस्पतालस्तरमा हासिल गरेका अनुभव र उपलब्धि साझा गरेका थिए ।


  कार्यक्रममा सन् २०२२ डिसेम्बरदेखि सुरु भई हाल मार्च २०२६ सम्म विस्तार गरिएको RHEA परियोजनाले महिला, किशोर–किशोरी, युवा, अपाङ्गता भएका व्यक्ति, यौनिक तथा लैंगिक अल्पसंख्यक, मुस्लिम, दलित तथा पछाडि पारिएका समुदायको SRHR सेवामा पहुँच विस्तारमा योगदान पुर्‍याउँदै आएको जानकारी दिइएको थियो ।


   नीति, सेवा र सचेतनामा प्रगति
परियोजना सुशासन, सेवा प्रवाह र सचेतना गरी तीन परिणाम क्षेत्रमा केन्द्रित रहेको छ। नीति तथा सुशासन अन्तर्गत SRHR सम्बन्धी नीति निर्माण, विपद् अवस्थामा प्रजनन स्वास्थ्य सेवा योजना र स्थानीय तहको क्षमता अभिवृद्धि भएको उल्लेख गरियो। सेवा प्रवाह अन्तर्गत स्वास्थ्यकर्मीलाई विभिन्न प्राविधिक तालिम प्रदान गरिएको र सचेतना अन्तर्गत विद्यालय तथा समुदायस्तरमा निरन्तर कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइयो।
  स्थानीय तहका प्रतिनिधिहरूले RHEA परियोजनाबाट प्राप्त सहयोगको प्रशंसा गर्दै यसले सुरु गरेका उपलब्धिलाई दिगो बनाउन तथा सबै स्वास्थ्य संस्था र विद्यालयसम्म विस्तार गर्न परियोजनाको निरन्तरता आवश्यक रहेको बताए। उनीहरूले परियोजनालाई थप १–२ वर्ष विस्तार गर्नुपर्ने सुझावसमेत दिएका छन्।
  कार्यक्रम आसमान नेपाल र UNFPA जिल्ला (RHEA) टोलीको सक्रिय समन्वय र प्रयासका कारण सफल भएको सहभागीहरूको भनाइ थियो। वर्कशपबाट प्राप्त सुझाव र सिकाइ आगामी योजना तथा कार्यक्रम निर्माणमा समेटिने UNFPA Nepal का कार्यक्रम संयोजक बच्चालाल महतोले जानकारी दिए ।
   

मलंगवा स्थित महेन्द्र होटलमा सम्पन्न कार्यक्रममा आसमान नेपालका संजय यादव, सर्लाही र रौतहटका आठवटै पालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, आयोजक संस्थाका पदाधिकारी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।


No comments:

Post a Comment