खुटौनामा रेबिज संक्रमणको जोखिम न्यूनीकरणका लागि प्रि–एक्सपोजर भ्याक्सिन
मधेशदूत समाचारदाता
सर्लाही, पुस २०
मलंगवा नगरपालिकाको आयोजनामा तथा प्रादेशिक अस्पताल मलंगवा, सर्लाहीको सहयोगमा ९० जना स्थानीयलाई मलंगवा नगरपालिका वडा नं. ६ खुटौनामा रेबिज भ्याक्सिनको प्रि–एक्सपोजर डोज लगाइएको छ।
केही दिनअघि खुटौना गाउँमा रेबिज रोगबाट संक्रमित एक भुस्याहा कुकुरले स्थानीय एक किसानको भैंसीलाई टोकेको थियो। कुकुरको टोकाइपछि उक्त भैंसी र रेबिज संक्रमित कुकुर दुवैको मृत्यु भएको थियो। सोही भैंसीको दूध स्थानीय बासिन्दाले सेवन गरेको जानकारी प्राप्त भएपछि सम्भावित संक्रमणको जोखिम न्यूनीकरणका लागि सतर्कता अपनाउँदै भ्याक्सिन लगाइएको मलंगवा नगरपालिका स्वास्थ्य शाखा संयोजक विष्णुकान्त साहले जानकारी दिए।
उनका अनुसार संक्रमित भैंसीको दूध सेवन गरेका स्थानीय मानिसहरूलाई रेबिज संक्रमणबाट सुरक्षित राख्न प्रि–एक्सपोजर रेबिज भ्याक्सिन लगाइएको हो। “रेबिज ज्यान जोखिममा पार्ने रोग भएकाले सानो शंका देखिए पनि तत्काल रोकथामका उपाय अवलम्बन गर्न आवश्यक हुन्छ,” साहले बताए।
स्वास्थ्य शाखाले रेबिज रोगप्रति सचेत रहन, आवारा कुकुरको टोकाइबाट जोगिन तथा कुनै पनि शंकास्पद घटना भए तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्थानीयवासीलाई आग्रह गरेको छ।
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी, वडा अध्यक्ष राम कैलाश राय, स्वास्थ्य शाखा प्रमुख विष्णुकान्त साह, जनस्वास्थ्य निरीक्षक धिरेन्द्र यादव तथा स्थानीय कर्मचारीहरूको सहभागिता रहेको थियो।
No comments:
Post a Comment