Translate

Sunday, January 4, 2026

चिसोबाट प्रभावित बालबालिकालाई बाल कल्याण समाज सर्लाहीको सहयोग

  



मधेशदूत समाचारदाता----
सर्लाही, पुस २०

    तराई–मधेश क्षेत्रमा बढ्दो शीतलहरका कारण जनजीवन अत्यन्त कष्टकर बनेको छ। चिसोको सबैभन्दा बढी असर टुहुरा तथा अभावग्रस्त बालबालिकामा परिरहेको अवस्थामा बाल कल्याण समाज सर्लाहीले उनीहरूका लागि राहतस्वरूप न्यानो लुगा(ज्याकेट) वितरण गरेको छ।
   विभिन्न व्यक्ति तथा संघ–संस्थाबाट प्राप्त नगद तथा जिन्सी सहयोग संकलन गरी मलंगवा नगरपालिका वडा नं. २, ३, ९ र ११ का टुहुरा तथा आर्थिक रूपमा कमजोर बालबालिकालाई ज्याकेट वितरण गरिएको हो। चिसोका कारण कतिपय बालबालिका बिरामी पर्ने र विद्यालय जान नसक्ने अवस्था देखिएपछि उनीहरूको स्वास्थ्य सुरक्षासँगै पठन–पाठनलाई निरन्तरता दिन सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ।
   सो कार्यक्रमअन्तर्गत मलंगवा नगरपालिका वडा नं. २, ३ र ११ का १४ जना बालबालिकालाई तथा यसअघि मलंगवा वडा नं. ९ स्थित श्री प्राथमिक विद्यालयमा अध्ययनरत १२ जना गरी जम्मा २६ जना बालबालिकालाई उनीहरूको विद्यालयमै पुगेर न्यानो लुगा वितरण गरेको संस्थाका अध्यक्ष सुन्दर श्याम राय जानकारी दिएको छ।
  न्यानो लुगा वितरण कार्यक्रम लक्षित बालबालिका अध्ययनरत विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा सहभागीहरूले आपसी सहयोग, सद्भाव र सहानुभूतिको भावना मजबुत बनाउँदै समाजसेवामा सबैको साझा जिम्मेवारी रहेको धारणा व्यक्त गरेका छन्।

No comments:

Post a Comment