लालबन्दीमा सक्रिय चोरी गिरोहको सञ्जाल खुल्दै पाँच पक्राउ, सुनका गरगहना र नगद बरामद
मनोज यादव---
सर्लाही, पुस २०
जिल्लाको।लालबन्दी बजार क्षेत्रमा केही महिनादेखि निरन्तर हुँदै आएका घरफोडी चोरीका घटनामा संलग्न गिरोहको सञ्जाल प्रहरी अनुसन्धानपछि क्रमशः खुल्दै गएको छ। इलाका प्रहरी कार्यालय लालबन्दीले चोरीमा संलग्न थप एक युवकलाई पक्राउ गरेसँगै अहिलेसम्म पक्राउ पर्नेको संख्या पाँच पुगेको छ।
प्रहरीले महोत्तरीको औरही नगरपालिका–२ निवासी २४ वर्षीय रविन महतोलाई पक्राउ गरेको हो। यसअघि पक्राउ परेका व्यक्तिहरुको बयानका आधारमा उनलाई घरबाटै नियन्त्रणमा लिएर लालबन्दी ल्याइएको प्रहरीले जनाएको छ।
प्रहरीले महतोको घरबाट सुनको झुम्का दुई थान, टप दुई थान, औँठी एक थान, छड्के तिलहरी एक थान, नेक्लेस एक थान, ल्यापटप एक थान र चोरीमा प्रयोग भएका फलामका विभिन्न औजारहरू बरामद गरेको छ।
यसअघि लालबन्दी बजार क्षेत्रका घरहरूमा चोरी गर्ने सर्लाहीको धनकौल गाउँपालिका–६ निवासी ३५ वर्षीया पिंकीदेवी साह, उनका एक नाबालक नातेदार तथा महोत्तरीबाट पक्राउ गरिएका उमेश महतोसमेत प्रहरी नियन्त्रणमा परिसकेका छन्। अनुसन्धानका क्रममा चोरीका गरगहना विभिन्न व्यक्तिले घरमा चोरी गरी पिंकीदेवी साहमार्फत सुनचाँदी पसलमा बिक्री गर्ने गरेको खुलेको छ।
चोरीका गरगहना खरिद गरेको आरोपमा लालबन्दी–७ स्थित आरके ज्वेलर्सका सञ्चालक लालबन्दी नगरपालिका–१० निवासी ४२ वर्षीय रमेश विक र साइरा ज्वेलर्सका सञ्चालक लालबन्दी नगरपालिका–६ निवासी ३१ वर्षीय कुमार विकलाई पनि प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार पक्राउ परेका सबैलाई अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखेर थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको छ।
चोरीमा अन्य व्यक्तिहरुको संलग्नता हुनसक्ने आशंकामा इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहारीको नेतृत्वमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
No comments:
Post a Comment