बाल संस्कार शिक्षामार्फत सनातन हिन्दू धर्मतर्फ बालबालिकाको झुकाव
मधेशदूत समाचारदाता---
सर्लाही, पुस २०
सर्लाहीको बरहथवा नगरपालिका, मुर्तिया स्थित मुक्तेश्वरनाथ मन्दिर परिसरमा शनिवार आयोजना गरिएको बाल संस्कार शिक्षा कार्यक्रमले विद्यालय उमेरका बालबालिकामा सनातन हिन्दू धर्मप्रतिको रुचि बढ्दो रहेको सन्देश दिएको छ। जन कल्याण प्रतिष्ठानद्वारा सञ्चालित एकल विद्यालय अभियान अन्तर्गत बरहथवा नगरपालिकाका १० वटा केन्द्रका बालबालिकाहरू कार्यक्रममा सहभागी भएका थिए।
एकल विद्यालय अभियानका जिल्ला अध्यक्ष बद्री नारायण मिश्रले सर्लाही जिल्लाका बरहथवा, कौडेना, गोडैता र हरिपुर्वा गरी चारवटा पालिकामा प्रत्येक पालिकामा १०–१० वटा केन्द्र सञ्चालन भइरहेको जानकारी दिए। ती केन्द्रमार्फत बालबालिकालाई सानै उमेरदेखि धर्म, संस्कार, नैतिकता र अनुशासनको शिक्षा दिइँदै आएको उनले बताए ।
कार्यक्रममा सहभागी बालबालिकाहरूले गायत्री मन्त्र, हनुमान चालिसा, सरस्वती वन्दना, देशभक्ति गीत तथा विभिन्न योग आसन प्रस्तुत गरेका थिए। बालबालिकाको आत्मविश्वासपूर्ण प्रस्तुतीले उपस्थित अभिभावक तथा अतिथिहरूको मन जित्न सफल भएको थियो।
कार्यक्रममा अभियानका जिल्ला अध्यक्ष मिश्र, बरहथवा मञ्चका अध्यक्ष रामआश्रय राय, केन्द्रीय सदस्य जितेन्द्र मण्डल, हिन्दू पत्रकार संघ नेपाल सर्लाहीका सचिव सन्तोष कर्ण, मुर्तिया मन्दिरका महन्तसहित विभिन्न केन्द्रका आचार्य र शिक्षिकाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमको समापनपछि सामूहिक भोजको व्यवस्था गरिएको थियो। आयोजकका अनुसार यस्तै प्रकारको अर्को कार्यक्रम गोडैता मञ्चको भेलाका अवसरमा आगामी पुस २७ गते सिमरामा आयोजना गरिनेछ।
No comments:
Post a Comment