Translate

Friday, January 9, 2026

सर्लाहीका सुरक्षा अधिकारीहरु सक्रिय: प्रतिनिधि सभा चुनावलाई लक्षित ७२ घण्टा सीमा नाका बन्द गर्ने निर्णय

 


मधेशदूत समाचारदाता---
सर्लाही, पुस २५

   सर्लाहीका सुरक्षा अधिकारीहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा सुनिश्चित गर्न विशेष पहल थालेका छन्।
   बिहीबार साँझ रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न नेपाल–भारत सीमा संयुक्त समन्वय समितिको बैठकमा सर्लाहीबाट प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्द लगायतका सुरक्षा अधिकारीहरू उपस्थित थिए।
   बैठकमा भारतको तर्फबाट सितामढी जिल्लाका प्रमुख सुरक्षा अधिकारीहरू पनि सहभागी भएका थिए। बैठकले प्रतिनिधि सभा निर्वाचन अघि ७२ घण्टा सीमा नाका पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको छ। यस दौरान अत्यावश्यकबाहेक कुनै पनि आवागमन रोक्ने सहमति भएको छ।
   बैठकमा सर्लाहीका अधिकारीहरूले सीमामा हुने अपराध, लागुऔषध नियन्त्रण, भन्सार छली रोकथाम र सूचना आदानप्रदानलगायत विषयमा छलफल गरेका थिए। बैठकमा सर्लाही, महोत्तरी र रौतहटका प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरूको उपस्थिति रहेको थियो।
  नेपाल–भारत सीमा सुरक्षा समितिको बैठक भविष्यमा पनि नियमित रूपमा हुने र दुवै देशका अधिकारीहरूले आवधिक भ्रमण गरी समन्वय गर्ने परम्परा जारी रहने छ बताइएको छ। सर्लाहीका सुरक्षा अधिकारीहरूले यस कदमलाई स्थानीय जनतालाई सुरक्षित मतदान सुनिश्चित गर्न आवश्यक कदम भएको बताएका छन्।


No comments:

Post a Comment