आफ्नै देशमा अनागरिकभएर बाँच्नु परेको १७ वर्षे विवेकको काँधमा चार जनाको जिम्मेवारी बाल्यकाल, शिक्षा र भविष्य अन्धकारमा
फिचर समाचार....✍️
मनोज यादव---
सर्लाही, पुस २४
लाउलाउँ, खाउखाउँ उमेर। विद्यालयको कक्षा, खेलकुद र भविष्यका सपनामा रमाउने समय। तर हरिवन नगरपालिका–१, लिचीटोलका १७ वर्षे विवेक परियारका लागि यो उमेर जिम्मेवारीको भारी बनेर आएको छ। उनी आफैं नाबालक हुनु , तर चार जनाको परिवारको अभिभावक पनि।
बिहान सबेरैदेखि राति अबेरसम्म ज्याला मजदुरी गरेर परिवार पाल्नु उनको दैनिकी बनेको छ । ७५ वर्षकी जिजुहजुरआमा अतिरुपा, ६० वर्षकी जन्मजातै फरक क्षमताकी हजुरआमा फूलमाया र १५ वर्षकी बहिनी बिविकाको सम्पूर्ण जिम्मेवारी विवेककै काँधमा छ।
चार वर्षकै उमेरमा आमाले छाडेर गइन्। बुबाको अत्तोपत्तो छैन। त्यसपछि विवेक र बहिनी मामाघरतर्फकी जिजुहजुरआमाको शरणमा हुर्किए। गाउँकै आधारभूत विद्यालयमा कक्षा ३ सम्म पढ्न पाएका विवेकले जन्मदर्ता नभएकै कारण पढाइ छाड्नुपर्यो।
चुरेको काखमा करिब १० धुर ऐलानी जग्गामा टिनको सानो छाप्रो बनाएर बसिरहेको यो परिवारसँग सम्पत्तिका नाममा त्यही जीर्ण छाप्रोबाहेक केही थिएन। त्यो छाप्रो पनि हालै ढलेपछि परिवार छिमेकीको घरमा शरण लिन बाध्य छ।
सानैदेखि संघर्षमा हुर्किएका विवेकले गाउँमै साहुको ट्र्याक्टरमा बालुवा लोड गर्ने कामबाट मजदुरी सुरु गरे। यही क्रममा ट्र्याक्टर चलाउन सिके र अहिले कुशल चालक बनेको छ।
तर नागरिकता र लाइसेन्स नहुँदा उनको सीप प्रयोगविहीन बनेको छ।
“धेरै दुःख गरेर सीप सिकेको थिएँ। लाइसेन्स बनाइदिए ट्र्याक्टर चलाएर परिवार पाल्ने थिएँ,” विवेक भन्छन्, “तर कागजात नहुँदा सपनामै सीमित भयो।”
विवेकले जेनतेन गरेर बहिनी बिविकालाई हरिवन–१, पटौनास्थित पटौना आधारभूत विद्यालयमा पढाइरहेको छ। कक्षा ७ मा पढिरहेकी बिविकालाई कक्षा ८ मा भर्ना गर्न विद्यालयले जन्मदर्ता अनिवार्य मागेको छ।
“बहिनीले पनि मेरो जस्तै पढाइ छाड्नुपर्ने हो कि भन्ने डर लाग्छ,” विवेकको स्वर भारी हुन्छ, “हाम्रो जन्मदर्तामात्र भए पनि जिन्दगी अलपत्र हुँदैनथ्यो।”
एकपटक स्थानीयको सल्लाहमा वडा कार्यालय पुगे पनि कुनै प्रमाण नभएको भन्दै फर्काइयो। कसरी जन्मदर्ता बन्छ भन्ने थाहा नहुँदा विवेक अझै अन्योलमा छन्।
जिजुहजुरआमा अतिरुपाका अनुसार विवेकका हजुरबुबा, बुबा कसैको पनि कागजात फेला परेन। कागजात भएका आफन्तसमेत नपाइँदा दुई पनाति–पनातिनीको भविष्य अन्धकार देखिएको उनको गुनासो छ।
स्थानीय सुवास श्रेष्ठ विवेकलाई इमानदार र मेहेनती युवा बताउँछन् । “सीप छ, इच्छाशक्ति छ, तर कानुनी कागज नहुँदा ऊ अनागरिकझैँ बाँच्न बाध्य छ,” उनी भन्छन् ।
वडाध्यक्ष टमबहादुर घिसिङले विवेक र बहिनीको जन्मदर्ताका विषयमा कानुनी प्रक्रियाअनुसार पहल भइरहेको बताए ।
“कानुनले दिएको दायराभित्र रहेर कागजात बनाउने प्रयास गरिरहेका छौं,” उनको भनाइ छ।
नागरिकता र जन्मदर्ता जस्ता सामान्य कागजात नहुँदा विवेकजस्ता किशोरले बाल्यकाल, शिक्षा र भविष्य सबै गुमाउनुपरेको छ। एउटा जन्मदर्ताको कागजले विवेक र बिविकाको जीवनले नयाँ मोड लिन सक्छ।
No comments:
Post a Comment