Translate

Friday, January 9, 2026

उखु संकटले हल्लियो सर्लाहीको कृषि अर्थतन्त्र उखु नै बन्यो किसानका लागि घाटाको खेतीमा

  



मधेशदूत समाचारदाता—
सर्लाही, पुस २५

   सर्लाहीमा उखु खेती अहिले केवल किसानको समस्या मात्र नभएर सम्पूर्ण कृषि अर्थतन्त्रकै संकट बन्दै गएको छ। समयमै चिनी मिल सञ्चालनमा नआउँदा र उखु खरिदको सुनिश्चितता नहुँदा नगदे बालीको रूपमा स्थापित उखु नै किसानका लागि घाटाको खेतीमा परिणत भएको छ।
    खेतमा पसिना बगाएर फलाएको उखु न बिक्री हुन सकेको छ, न त समयमै काटेर अर्को बाली लगाउने अवसर नै मिलेको छ। यसले किसानको आम्दानी मात्र होइन, आगामी सिजनको उत्पादन चक्र नै अवरुद्ध बनाएको छ।
धनकौलस्थित अन्नपूर्ण चिनी मिल अझै सञ्चालनमा नआउनु र विगतमा सर्लाहीको उखु खरिद गर्दै आएको महोत्तरीको रामनगर स्थित एभरेष्ट सुगर मिलले यस वर्ष हात झिकेपछि हजारौँ किसान वैकल्पिक बजारविहीन बनेका छन्। बरहथवा नगरपालिका–१५ हरपुर्वाका किसान राजकुमार महतो जस्ता किसानको उखु अहिले खेतमै थन्किएको छ, जसको मूल्य दिनदिनै घट्दै गएको छ।
   उखु ढुवानी र तौलको अवस्था झन् चिन्ताजनक छ। अघिल्ला वर्षहरूमा दैनिक चार टायरसम्म उखु पठाउने किसान अहिले एउटै टायरका लागि चार दिन कुर्न बाध्य छन्। समय बित्दै जाँदा उखु सुक्दै जानु, रस घट्नु र तौल कम हुनुले किसानको लागत समेत उठ्न नसक्ने अवस्था आएको छ।
  जिल्लामा विकल्पका रूपमा रहेको हरिवनस्थित इन्दुशंकर चिनी मिलमाथि समेत किसानको असन्तोष बढ्दो छ। वास्तविक किसानभन्दा ठेकेदार र पहुँचवालालाई प्राथमिकता दिई चलान पुर्जी वितरण गरिएको आरोपले मिलप्रति विश्वास कमजोर बन्दै गएको छ। हप्तौँ लाइन बसेर पनि पुर्जी नपाउने किसान र सजिलै सुविधा पाउने बिचौलियाबीचको विभेदले किसानमा आक्रोश थपिएको छ।
उखु खेतमै अड्किँदा गहुँ रोपाइँ प्रभावित भएको छ। हिउँदे बालीको मुख्य समय गुज्रँदै जाँदा खेत खाली गर्न नसक्नुले यस वर्ष गहुँ उत्पादनमा ठूलो गिरावट आउने निश्चित देखिएको छ। यसले खाद्य सुरक्षासँगै किसानको भविष्यमा समेत प्रश्नचिन्ह खडा गरेको छ।
   किसानहरू अब यो समस्या व्यक्तिगत हैन, नीतिगत असफलता भएको बताउँदै सरकार र प्रशासनको तत्काल हस्तक्षेप मागिरहेका छन्। मिलहरू पूर्ण क्षमतामा सञ्चालन गराउने, उखु खरिद प्रक्रियामा पारदर्शिता कायम गर्ने र किसानलाई सुनिश्चित बजार उपलब्ध गराउन नसके उखु खेती नै विस्थापित हुने उनीहरूको चेतावनी छ।
  दीर्घकालीन रूपमा समस्याको समाधान नभएको अवस्थामा  उखु खेती गर्दौे आएका  हजारौँ किसानको जीविकोपार्जन संकटमा पर्ने निश्चित देखिन्छ।

No comments:

Post a Comment