Translate

Friday, January 9, 2026

सागरनाथ वन चौकीदार हत्या काण्ड : हत्याको मुख्य कारण काठ चोरी विवाद आरोपित पक्राउ, बन्चरो र रगताम्य कपडा बरामद




मधेशदूत समाचारदाता---
सर्लाही, पुस २५

   सर्लाहीको ईश्वरपुर नगरपालिका–२, राईटरखोट टोलस्थित सागरनाथ वन विकास परियोजनाको जंगलमा चौकीदारको हत्या भएको घटनामा संलग्न आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
    घटना सम्बन्धि प्रहरीले मधेशदूतलाई दिएको जानकारी अनुसार सागरनाथ वन विकास परियोजनामा चौकीदारको रूपमा कार्यरत बेचु महतो कोईरीका ५२ वर्षीय छोरा रामेश्वर महतो कोईरी पुस १९ गते बिहान करिब ५ बजे घरबाट साइकलमा चढी भक्तिपुरस्थित प्लट नं. १० को जंगलमा एक्लै गस्ती गर्न गएका थिए। गस्तीका क्रममा उनी सम्पर्कविहीन भएपछि परिवारजनले पटक–पटक फोन गर्दा फोन नउठेको र केही समयपछि मोबाइल स्विच अफ भएको थियो।
परिवारले खोजतलास गर्ने क्रममा सोही दिन दिउँसो करिब २ः३० बजे ईश्वरपुर नगरपालिका–२, राईटरखोर घाट टोलस्थित सागरनाथ वन विकास परियोजनाको प्लट नं. १० को जंगलभित्र बनमाराको झाडीमा कोईरीको रगताम्य अवस्थामा मृत शरीर फेला पारेका थिए।
   घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाही तथा इलाका प्रहरी कार्यालय केशरगञ्जबाट खटिएको प्रहरी टोलीले घटनास्थलको सूक्ष्म निरीक्षण गर्दा घटनास्थलबाट करिब ७७ मिटर पूर्वतर्फ “NEKISOO” लेखिएको कालो रंगको एक जोर चप्पल र रगत लागेको बन्चरो फेला परेको थियो। स्थानीय व्यक्तिहरूका अनुसार उक्त चप्पल र बन्चरो ईश्वरपुर नगरपालिका–२, राईटरखोट टोल निवासी रुपनारायण महतोका छोरा रामबलि महतोले प्रयोग गर्दै आएको खुल्न आएको प्रहरीले जनाएको छ।
   प्रहरीले तत्कालै रामबलि महतोको घरमा पुगेर उनलाई नियन्त्रणमा लिई घर खानतलासी गर्दा सुत्ने कोठाभित्र काठको ह्याङ्गरमा झुण्ड्याइएको ज्याकेट र जिन्स पाइन्ट फेला परेको थियो। ती कपडाको अगाडिको भागमा रगत जस्तो देखिने रातो पदार्थका दाग तथा छिटा रहेकोले कानून बमोजिम बरामद गरिएको प्रहरीले जनाएको छ।
   प्रारम्भिक अनुसन्धानका क्रममा रामबलि महतो पटक–पटक जंगलमा प्रवेश गरी टिक र मसलाको रुख काटी चोरी गर्दै आएको र सोही क्रममा चौकीदार रामेश्वर महतो कोईरीले फेला पारेर पटक–पटक सम्झाइ बुझाइ गरेको खुलेको छ। यसअघि काठ काटिरहेको अवस्थामा पक्राउ गर्न खोज्दा दुवैबीच जंगलभित्र झैझगडा तथा लछारपछार भएको र रामबलि महतो फरार भएको पनि खुलेको प्रहरीले जनाएको छ।
घटनाभन्दा ४–५ दिन अगाडि रामेश्वर महतो कोईरीले जंगलबाट चोरी गरी राखिएको टिकको दाउरा उठाई लगेको विषय थाहा पाएपछि रामबलि महतोले रामेश्वरलाई मार्ने र काट्ने धम्की दिएको प्रमाण समेत फेला परेको प्रहरीले बताएको छ।
   उक्त प्रमाणहरूको आधारमा रामबलि महतोलाई पुस १९ गते जरुरी पक्राउ पुर्जी दिई पक्राउ गरिएको र सम्मानित सर्लाही जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसूरमा ६ दिनको म्याद थप गराइ इलाका प्रहरी कार्यालय केशरगञ्जमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डिएसपी सरोज राईले जानकारी दिएका छन्।


No comments:

Post a Comment