अव्यवस्थित तारको जालोमा मलंगवा बजार: जोखिम, कुरूपता र सम्भावित दुर्घटनाको डर
मनोज यादव---
सर्लाही,पुस २५
चहलपहलले भरिएको मलंगवा बजारको मुख्य चोकदेखि गल्लीसम्म अहिले तारको अव्यवस्थित जालो देखिन्छ । बिजुली, टेलिफोन र इन्टरनेटका तारहरू एउटै पोलमा जथाभावी टाँगिँदा बजारको स्वरूप कुरूप मात्र बनेको छैन, सर्वसाधारणको दैनिकी नै जोखिमपूर्ण बन्दै गएको छ ।
बजार क्षेत्रका प्रत्येक पोलमा तारको चाङ लागेजस्तो देखिन्छ । एकै ठाउँमा विभिन्न सेवाका तारहरू बटारिएर गुजुल्टिएका छन् । कतिपय पोल पुराना र जीर्ण भइसकेका छन्, जसले अत्यधिक तारको भार थाम्न नसक्ने अवस्थामा पुगेका छन् । कतै पोल ढल्ने त कतै तार चुडिने जोखिम छ ।
मुख्य चोकमा रहेका पोलहरू अझै जोखिमपूर्ण देखिन्छन् । बिजुली, इन्टरनेट र टेलिफोनका तारहरू यत्रतत्र झुन्डिँदा बजारको सुन्दरतामा ठुलो धक्का पुगेको छ । स्थानीयहरू भन्छन्, “व्यवस्थापनमा ध्यान नदिँदा कुनै पनि बेला ठुलो दुर्घटना हुन सक्छ ।”
भूकम्प, आगलागी, हावाहुरीजस्ता प्राकृतिक विपद् आएमा जोखिम झनै बढ्ने देखिन्छ । पोलमा यसरी बटारिएका तारमध्ये कुनै एकमा सर्ट भयो भने सबै सेवा एकैपटक प्रभावित हुने अवस्था छ । प्राविधिकहरूका अनुसार, तार यति अव्यवस्थित छन् कि कुन सेवाग्राहीको कुन तार हो भनेर छुट्याउनसमेत मुस्किल पर्ने गरेको छ । समस्या आउँदा मर्मत–सम्भार गर्न पनि अत्यन्त कठिन हुने उनीहरू बताउँछन् ।
अझ बजारका सडकमा झुन्डिएका होचा तारहरू ठूला सवारीसाधनले बारम्बार चुडाइदिने गरेका छन् । यसले लाइन सर्ट हुने, आगलागीको जोखिम बढ्ने र कहिलेकाहीँ लामो समयसम्म सेवा अवरुद्ध हुने समस्या देखिँदै आएको छ । “बिच बजार भएर सवारी गुड्दा तार चुडिनु सामान्यजस्तै भइसकेको छ । कहिले कस्को धन–जनको क्षति हुन्छ, ठेगान छैन,” स्थानीयको गुनासो छ ।
सम्बन्धित निकाय र सेवा प्रदायक कम्पनीहरूले समयमै ध्यान नदिने हो भने मलंगवा बजार तारको जालोमा झन् फस्दै जाने निश्चित छ । बजारको सुन्दरता जोगाउने र नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै व्यवस्थित तार व्यवस्थापन अब अपरिहार्य बन्दै गएको छ ।
No comments:
Post a Comment