“बदलिएको कांग्रेस नै देशको नयाँ शक्ति हो” : सभापति गगन थापा
मधेशदूत समाचारदाता----
सर्लाही, माघ १४
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकलाई वर्तमान राजनीतिक अन्योलबाट निकाल्न स्थिर, अनुभवी र जिम्मेवार नेतृत्व आवश्यक रहेको बताउँदै त्यो क्षमता नेपाली कांग्रेससँग मात्रै रहेको दाबी गर्नुभएको छ।
मंगलबार बिहान सर्लाहीको बलरा नगरपालिका–९ छतौनामा आयोजित नगरस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेस उत्तेजना र अराजकताको राजनीतिबाट होइन, शान्तिपूर्ण र संस्थागत प्रक्रियामार्फत देशको नेतृत्व गर्न अघि बढिरहेको स्पष्ट पार्नुभयो।
“नयाँ नारा र आकस्मिक अभियानले होइन, परिवर्तनको चाहना र जनताको दबाबले कांग्रेस आफूलाई रूपान्तरण गर्दै आएको छ,” उहाँले भन्नुभयो, “आजको सन्दर्भमा बदलिएर अघि बढेको कांग्रेस नै देशको नयाँ पार्टी हो।”
थापाले चुनावको समयमा ‘नयाँ’ भन्ने आवरणमा भ्रम सिर्जना गर्ने प्रवृत्तिप्रति कटाक्ष गर्दै विचार, संगठन र जिम्मेवारीबिना खुलेका दलहरूले दीर्घकालीन राजनीतिक स्थायित्व दिन नसक्ने बताउनुभयो।
पछिल्लो समय टिकटका लागि मात्र पार्टी परिवर्तन गर्ने प्रवृत्ति राजनीतिक संस्कारविरुद्ध भएको उल्लेख गर्दै उहाँले कांग्रेसभित्र परिवर्तन कार्यकर्ताको दबाब र आवश्यकता अनुसार भएको जिकिर गर्नुभयो। “हामी चुनाव जित्न मात्र होइन, देश बदल्न नयाँ सिराबाट अघि बढेका छौँ,” थापाले भन्नुभयो।
भ्रष्टाचार नियन्त्रण र सुशासनलाई कांग्रेसको प्रमुख एजेन्डा रहेको उल्लेख गर्दै नवनिर्वाचित सभापति थापाले फागुन २१ पछिको निर्वाचनपछि सबै राजनीतिक शक्ति र समुदायलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
तीन पटक निर्वाचित काठमाडौं–४ छाडेर सर्लाही–४ बाट उम्मेदवारी दिएको प्रसंगमा थापाले बागमतीको एउटा किनारबाट अर्को किनारमा आइपुगेजस्तै देशका फरक भूगोल र समस्यालाई नजिकबाट बुझ्न आफू यहाँ आएको बताउनुभयो।
सोमबारदेखि सर्लाही आइपुगेका कांग्रेस सभापति थापा हाल निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत विभिन्न स्थानमा पुगेर अगुवा नेता–कार्यकर्ता तथा मतदातासँग भेटघाटमा सक्रिय रहनुभएको छ।
सर्लाही–४ मा कांग्रेस सभापति थापासँगै राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंह, नेकपा (एमाले)का अमनिस कुमार यादव, नेपाली कम्युनिस्ट पार्टीका रजनिस राय, जनता समाजवादी पार्टी नेपालका रामेश्वर राय यादवलगायत उम्मेदवारहरू पनि घरदैलो अभियानमा व्यस्त देखिएका छन्।
No comments:
Post a Comment