Translate

Wednesday, January 28, 2026

चुनावी चहलपहल, तर प्रचार सामाग्री बनाउने व्यवसाय सुस्त डिजिटल अभियान र आचारसंहिताले खुम्चियो छापाखाना व्यवसाय

  


मनोज यादव---
सर्लाही, माघ १५

    फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सर्लाहीसहित देशभर चुनावी माहोल तातेको छ। उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगिरहेका छन्, चिया पसलदेखि चौतारीसम्म राजनीति बहसको केन्द्र बनेको छ। तर यो चुनावी चहलपहलको प्रभाव भने प्रचार सामग्री बनाउने व्यवसायीहरूमा खासै देखिएको छैन।
   कुनै समय चुनाव आउनासाथ व्यस्त हुने छापाखाना, फ्लेक्स प्रिन्टिङ र झण्डा बनाउने उद्योगहरू अहिले अपेक्षाकृत सुनसान छन्। पहिले चुनावको घोषणा भएलगत्तै पोस्टर, ब्यानर, झण्डा, टोपी र टिसर्टको अर्डरले दिनरात काम गर्नुपर्ने व्यवसायीहरू यसपटक स-साना काममै सीमित भएका छन्।
    मलंगवा-९ का एक छापाखाना व्यवसायी नन्दलाल यादवका अनुसार अघिल्ला चुनावमा एकैपटक लाखौँ पिस प्रचार सामग्रीको अर्डर आउने गर्थ्यो। चुनाव नजिकिँदै जाँदा अर्डर धान्न मुस्किल पर्थ्यो तर यसपटक त्यो उत्साह बजारमा देखिँदैन यादवले भने।
   व्यवसाय खुम्चिनुको मुख्य कारण निर्वाचन आयोगको कडाइ मात्र नभई चुनावी रणनीतिमा आएको परिवर्तन पनि भएको छापाखाना व्यवसायीहरूको बुझाइ छ। आयोगले सार्वजनिक स्थानमा झण्डा, पोस्टर र भड्किला प्रचार सामग्री प्रयोगमा कडाइ गरेपछि दल र उम्मेदवारहरू परम्परागत प्रचार सामग्रीभन्दा डिजिटल माध्यमतर्फ आकर्षित हुँदै गएका छन्।
सामाजिक सञ्जाल, मोबाइल सन्देश, अनलाइन भिडियो र प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिन थालेपछि प्रचार खर्चको स्वरूप पनि फेरिएको देखिन्छ। यसले एकातिर चुनावलाई कम खर्चिलो बनाउने संकेत गरे पनि अर्कोतिर स्थानीय स्तरमा रोजगारी सिर्जना गर्दै आएका प्रचार सामग्री व्यवसायीहरू मारमा परेका छन्।
   राजनीतिक विश्लेषकहरूका अनुसार यो अवस्था केवल अस्थायी मन्दी मात्र नभई चुनावी प्रचार संस्कृतिमा आएको संरचनागत परिवर्तनको संकेत हो। “अब चुनाव पोस्टरको संख्या होइन, सन्देशको प्रभावले जितिन्छ,” एक विश्लेषक भन्छन्।
   चुनावी माहोल तात्दै जाँदा प्रचार बजार चिस्सिनुमा  बदलिँदो समय,कडा आचारसंहिता र डिजिटल राजनीतितर्फको यात्रालाई स्पष्ट रूपमा देखाएको छ।

No comments:

Post a Comment