मलंगवामा वेल्टन कम्पनीद्वारा पहिलो पटक स्किन टेस्ट कार्यक्रम
मधेशदूत समाचारदाता---
सर्लाही, माघ १५
सौन्दर्य तथा स्किन केयर क्षेत्रमा मलंगवामा आज नयाँ अध्याय थपिएको छ। प्रख्यात स्किन केयर कम्पनी वेल्टन (Welton) को आयोजनामा पहिलो पटक स्किन टेस्ट कार्यक्रम सम्पन्न भएको छ। बुधबार आयोजना भएको कार्यक्रममा ब्यूटीशियन तथा सर्वसाधारण महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा विशेषज्ञहरूले स्किन टेस्टमार्फत छालाको सही पहिचान, छालासम्बन्धी समस्याहरू तथा तिनका समाधानबारे विस्तृत जानकारी दिएका थिए। साथै, फरक–फरक छाला प्रकारअनुसार उपयुक्त प्रोडक्ट र ट्रीटमेन्टको सही प्रयोगबारे पनि सहभागीहरूलाई अवगत गराइएको थियो।
कार्यक्रममा सहभागी पार्लर सञ्चालकहरूले यस कार्यक्रमलाई अत्यन्त उपयोगी तथा ज्ञानवर्धक भएको बताएका छन्। उनीहरूले यस्ता कार्यक्रमले ब्यूटी उद्योगलाई नयाँ दिशा दिने भन्दै भविष्यमा पनि यस्तै कार्यक्रमको निरन्तरता आवश्यक रहेको धारणा व्यक्त गरे।
स्किन टेस्ट कार्यक्रमलाई सम्बोधन गर्दै ब्यूटीशियन एसोसिएसनकी अध्यक्ष मीराले यो पहल केवल पार्लर वा प्रोफेशनल ब्यूटीशियनसम्म सीमित नरहने बताइन्। उनले अबदेखि सर्वसाधारण महिलाहरूलाई समेत आफ्नो छाला, स्वास्थ्य र सौन्दर्यप्रति सचेत बनाउने अवसर प्रदान गर्ने उद्देश्य रहेको स्पष्ट पारिन्।
उनले आफ्नो सम्बोधनमा आजकी महिला घरसम्म मात्र सीमित नरही आत्मनिर्भर, सचेत र स्वास्थ्यप्रति जागरूक बन्दै गएको उल्लेख गरिन्। यस्ता कार्यक्रममार्फत महिलाहरूले आफ्नो छालालाई राम्रोसँग बुझ्न सक्ने र सही हेरचाह अपनाउन सक्ने बताउँदै यसले उनीहरूको आत्मविश्वास र जीवनस्तर दुवैमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन्।
उनले आगामी दिनहरूमा ब्यूटीशियन एसोसिएसनले सर्वसाधारण महिलाहरूका लागि पनि यस्ता जनचेतनामूलक कार्यक्रम, स्किन टेस्ट तथा मार्गदर्शन सत्रहरू आयोजना गर्दै जाने जानकारी दिइन्, जसबाट सौन्दर्य र स्वास्थ्यसम्बन्धी ज्ञान प्रत्येक महिलासम्म पुग्नेछ।
कार्यक्रममा उपस्थित महिलाहरू तथा ब्यूटीशियनहरूले मीराको सन्देशको स्वागत गर्दै यसलाई महिला सशक्तिकरणको दिशामा महत्वपूर्ण कदम भएको बताएका छन्।
No comments:
Post a Comment