Translate

Wednesday, January 28, 2026

हातीपाइले उन्मूलनमा सञ्चारकर्मीको भूमिका निर्णायक




मधेशदूत समाचारदाता---
सर्लाही,माघ १५

   सर्लाहीमा हातीपाइले रोग उन्मूलनलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चारकर्मी र स्वास्थ्य निकायबीच समन्वयात्मक संवादलाई जोड दिइएको छ। सदरमुकाम मलंगवामा बुधबार  आयोजित अन्तरक्रिया कार्यक्रममा आम औषधि सेवन अभियान सफल पार्न सञ्चारमाध्यमको भूमिका निर्णायक हुने निष्कर्ष निकालिएको हो।
    स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख नवल किशोर झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकारहरूलाई अभियानको वैज्ञानिक पक्ष, औषधिको प्रभावकारिता तथा जनसमुदायमा फैलिएका भ्रमबारे स्पष्ट जानकारी गराइएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुर, मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीलगायत जिल्लाका सञ्चारकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो।
   स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु, काठमाडौंका डा. शशि बडेलले हातीपाइले रोग दीर्घकालीन अपाङ्गता निम्त्याउने गम्भीर रोग भए पनि नियमित औषधि सेवनबाट पूर्ण रूपमा रोकथाम सम्भव रहेको स्पष्ट पारे। उनले सञ्चारकर्मीमार्फत सही सूचना प्रवाह हुन सके जनसहभागिता उल्लेख्य रूपमा बढ्ने विश्वास व्यक्त गरे।
   स्वास्थ्य कार्यालयका अनुसार सर्लाही जिल्लाका ‘ख’ समूहमा रहेका १२ वटा पालिकामा आम औषधि सेवन अभियान सञ्चालन भइरहेको छ। यस वर्ष ४ लाख ३० हजार ९ सय ४१ जनालाई औषधि खुवाउने लक्ष्य लिइएको छ भने कुल जनसंख्याको कम्तीमा ८० प्रतिशतलाई अभियानमा समेट्ने रणनीति बनाइएको छ।
   कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले स्थानीय तहमा अझै पनि औषधि सेवनबारे आशंका र गलत सूचना रहेको उल्लेख गर्दै तथ्यमा आधारित समाचार र जनचेतनामूलक सामग्री प्रकाशनमा जोड दिने प्रतिबद्धता जनाएका थिए।
   मलंगवा नगरपालिका कार्यालयको सभाहलमा सम्पन्न कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय सर्लाहीका मनोज झाले गरेका थिए ।

No comments:

Post a Comment