Translate

Wednesday, January 28, 2026

सर्लाही–४ मा गगनको प्रभाव विस्तार विपक्षी दलबाट वडाध्यक्षदेखि उम्मेदवारसम्म कांग्रेसमा प्रवेश

  

 


मनोज यादव----
सर्लाही,माघ १५

   सर्लाही क्षेत्र नम्बर–४ को चुनावी समीकरण नेपाली कांग्रेसको पक्षमा तीव्र रूपमा मोडिन थालेको छ। कांग्रेस सभापति गगनकुमार थापा प्रतिनिधिसभा उम्मेदवार बनेपछि स्थानीय तहमा प्रभाव राख्ने जनप्रतिनिधि तथा उम्मेदवारहरू विपक्षी दल छाड्दै कांग्रेसमा प्रवेश गर्न थालेका छन्।
   बुधबार सर्लाहीमा आयोजित कार्यक्रममा बहुजन पार्टीबाट प्रदेशसभा उम्मेदवार बनेका कृष्णकुमार कुशवाहसहित गोडैता नगरपालिकाका चार जना वडाध्यक्ष कांग्रेसमा प्रवेश गरेका छन्। उनीहरूलाई कांग्रेस सभापति गगन थापाले औपचारिक रूपमा पार्टीमा स्वागत गरेका हुन्।
   कांग्रेस प्रवेश गर्नेहरूमा गोडैता नगरपालिका वडा नं १ का वडाध्यक्ष सुजित महतो, वडा नं २ का वडाध्यक्ष अजय प्रसाद शाह, वडा नं ५ का वडाध्यक्ष प्रकाश गुप्ता र वडा नं ११ का वडाध्यक्ष विश्वनाथ पण्डित रहेका छन्। यससँगै बसबरियाका जसपा नेता मुकेश यादव तथा वडासदस्य लालु मन्सुर पनि कांग्रेसमा समाहित भएका छन्।
   विशेषगरी फरक–फरक राजनीतिक पृष्ठभूमिबाट निर्वाचित जनप्रतिनिधिहरूको एकैपटक कांग्रेस प्रवेशलाई सर्लाही–४ को चुनावी राजनीतिमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ। वडा नं १ र २ का वडाध्यक्षहरू नेपाल कम्युनिष्ट पार्टी, वडा नं ५ का वडाध्यक्ष जनता समाजवादी पार्टी र वडा नं ११ का वडाध्यक्ष एमालेबाट निर्वाचित भएका थिए।
कांग्रेस प्रवेश गरेका नेताहरूले गगन थापामा विकास, सुशासन र राष्ट्रिय नेतृत्व दिन सक्ने क्षमता देखेकाले पार्टी परिवर्तन गरेको बताएका छन्। “देश र क्षेत्रको समग्र विकासका लागि स्पष्ट भिजन बोकेको नेतृत्वको साथ दिन चाह्यौं,” उनीहरूको भनाइ छ।


   यसअघि सर्लाही–४ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव पनि कांग्रेसमा प्रवेश गरिसकेका छन्। निरन्तर भइरहेको यो प्रवेशले सर्लाही–४ मा कांग्रेसको संगठनात्मक पकड बलियो बन्दै गएको र विपक्षी दलहरू दबाबमा परेको संकेत दिएको राजनीतिक विश्लेषकहरू बताउँछन्।
  फाल्गुन २१ गते हुने निर्वाचन नजिकिँदै गर्दा गगन थापाको उम्मेदवारी सर्लाही–४ मा मात्र नभई मधेश राजनीतिमा समेत प्रभावशाली बन्न थालेको देखिन्छ।

No comments:

Post a Comment