विकास र सेवाको एजेन्डासहित सर्लाही-४ आइपुगे कांग्रेस सभापति गगन थापा `म अतिथि होइन सेवक बनेर आएको हुँ ’
मनोज यादव----
सर्लाही, माघ १३
नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाही क्षेत्र नं. ४ बाट उम्मेदवारी दिएसँगै आफू आजदेखि सर्लाहीकै भएको घोषणा गरेका छन् । सोमबार निर्वाचन क्षेत्र पुगेर कार्यकर्तालाई सम्बोधन गर्दै उनले १५ वर्षको राजनीतिक अनुभव सर्लाही जिल्लाको विकास र जनताको सेवामा समर्पित गर्ने बताएका हुन् ।
काठमाडौंबाट सिमरा विमानस्थल हुँदै सर्लाही आइपुगेका थापाले धनकौल बजारस्थित कांग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा आफू सर्लाही–४ मा ‘अतिथि होइन, सेवक’ बनेर आएको स्पष्ट पारे । उनले जनताको दुःख–सुखमा सिधै जोडिने प्रतिबद्धता व्यक्त गर्दै भने, “आजदेखि म तपाईंहरूको भएको छु । कुनै माध्यम चाहिँदैन । तपाईंको हक मसँग सुरक्षित छ ।”
थापाले आफू चमत्कार गर्ने वाचा नगरे पनि शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा परिणाममुखी काम गर्ने दृढता जनाए । तीनपटकको सांसदको अनुभव बोकेर सर्लाही–४ आएको उल्लेख गर्दै उनले निर्वाचन क्षेत्रमै स्थायी सम्पर्क कार्यालय खोल्ने र काठमाडौंमा समेत सर्लाही–४ का लागि अलग कार्यालय स्थापना गर्ने योजना सार्वजनिक गरे ।
“१५ वर्षको अनुभव अब सर्लाही–४ मा प्रयोग हुन्छ,” उनले भने, “जनताको आवश्यकता र अपेक्षा अनुसार काम गर्ने मेरो प्रतिबद्धता हो ।”
कांग्रेस अब बदलिएर मात्र होइन, देश बदल्ने स्पष्ट योजनासहित चुनावी मैदानमा उत्रिएको दाबी गर्दै थापाले आगामी तीन दिनसम्म निर्वाचन क्षेत्रमै बसेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम रहेको जानकारी दिए ।
सर्लाही–४ मा गगन थापाको उम्मेदवारीसँगै चुनावी सरगर्मी थप तातेको छ भने कांग्रेसले नयाँ नेतृत्व शैली र प्रत्यक्ष जनसम्पर्कलाई प्राथमिकता दिएको राम्रो सन्देश दिएको विश्लेषकहरू बताउँछन् ।
No comments:
Post a Comment