निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न सरोकारवाला संघ-संस्था द्वारा प्रशासन र निर्वाचन निकायको ध्यानाकर्षण
मधेशदूत समाचारदाता---
सर्लाही,माघ १३
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न सरोकारवाला संघ–संस्थाहरुले जिल्ला प्रशासन र निर्वाचन निकायको ध्यानाकर्षण गराएका छन्।
बाल कल्याण समाज सर्लाही, मानव अधिकार रक्षक सञ्जाल सर्लाही, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (NCE Nepal) सर्लाही, अनौपचारिक क्षेत्र सेवा केन्द्र (INSEC) सर्लाही तथा मुक्ती नेपालले सोमबार संयुक्त रूपमा प्रमुख जिल्ला अधिकारी र मुख्य निर्वाचन अधिकृतको कार्यालय सर्लाहीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।
ध्यानाकर्षण पत्रमा नेपालको संविधान, बालबालिका सम्बन्धी ऐन २०७५, अन्तर्राष्ट्रिय बाल अधिकार महासन्धि १९८९ तथा निर्वाचन आचारसंहिता २०८२ अनुसार बालबालिकालाई राजनीतिक गतिविधि, प्रचार–प्रसार, र्याली, पोस्टर टाँस्ने, मतदाता प्रभावित गर्ने लगायत कुनै पनि निर्वाचनजन्य कार्यमा संलग्न गराउन नपाइने स्पष्ट व्यवस्था रहेको उल्लेख गरिएको छ।
सरोकारवाला संस्थाहरूले निर्वाचनमा बालबालिकाको प्रयोगले उनीहरूको शारीरिक, मानसिक तथा शैक्षिक विकासमा गम्भीर असर पर्ने भन्दै यस विषयमा विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।
आगामी २०८२ फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा सर्लाही जिल्लाभित्रका सबै राजनीतिक दल, उम्मेदवार, प्रतिनिधि तथा सरोकारवालालाई १८ वर्षमुनिका बालबालिकालाई प्रयोग नगर्न स्पष्ट निर्देशन जारी गरी बालबालिकामुक्त निर्वाचन वातावरण सुनिश्चित गर्न माग गरिएको छ। साथै, निर्वाचन आचारसंहिता उल्लंघन गर्ने उम्मेदवार वा निकायलाई निर्वाचन आयोग ऐन २०७३ बमोजिम आवश्यक कारबाहीका लागि सचेत गराउन पनि ध्यानाकर्षण गराइएको छ।
सरोकारवाला संस्थाहरूले बाल अधिकार संरक्षणका लागि निर्वाचन आयोग तथा जिल्ला निर्वाचन कार्यालयसँग सहकार्य गर्न आफूहरू सदैव तयार रहेको जनाउँदै प्रशासनको सकारात्मक पहलको अपेक्षा व्यक्त गरेका छन्।
No comments:
Post a Comment